२७ असार २०८३, शनिबार

एमालेको नीति र नेतृत्व पुनर्गठनका लागि लाग्ने उपाध्यक्ष पौडेलको घोषणा

फागुन २३, २०८२
काठमाडौं
एमालेको नीति र नेतृत्व पुनर्गठनका लागि लाग्ने उपाध्यक्ष पौडेलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि लाग्ने घोषणा गरेका छन् ।

आफूहरूका तर्फबाट विगतमा भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि लाग्ने उनको भनाइ छ । 

‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती, कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न र नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु’, पौडेलले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।

पौडेल रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । उनी रास्वपाका सुलभ खरेलसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।

उनले निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुन आग्रह गरेका छन् । ‘राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन् । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र संकल्प कमजोर हुनुहुँदैन । यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु’, पौडेलले लेखेका छन् ।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत रहेको र आफूले मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्ने बताएका छन् । उनले निर्वाचित हुने रास्वपाका खरेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

‘निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया हो । मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नम्बर २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ’, पौडेलले लेखेका छन्, ‘म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ । यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।’

चुनावी अभियानमा खटिएका एमालेका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति पौडेलले आभार व्यक्त गरेका छन् । निर्वाचन सम्पन्न गर्न योगदान गर्ने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई पनि पौडेलले धन्यवाद दिएका छन् ।

पौडेलले यस क्षेत्रबाट यसअघि लगातार चारपटक चुनाव जितेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्