२१ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन २०८२

विष्णु पौडेल, ईश्वर पोखरेलदेखि प्रदीप पौडेलसम्मका चर्चित अनुहार- जो देखिने छैनन् आगामी संसद्‌मा

फागुन २३, २०८२
काठमाडौं
विष्णु पौडेल, ईश्वर पोखरेलदेखि प्रदीप पौडेलसम्मका चर्चित अनुहार- जो देखिने छैनन् आगामी संसद्‌मा

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । शनिबार बिहान ११:५० बजेसम्म १६५ मध्ये ४५ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

त्यसमध्ये ३४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित हासिल गरिसकेको छ । ६ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ ।

यसैगरी, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समान दुई–दुई स्थानमा जित हासिल गरेका छन् । एक स्थानमा भने स्वतन्त्र उम्मेदवार (महावीर पुन) विजयी भएका छन् ।

यसपटक निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र मधेश केन्द्रित दलका थुप्रै चर्चित अनुहारले नराम्रो हार भोगेका छन् ।

नेकपा एमालेका विष्णुप्रसाद पौडेल रुपन्देही २ मा पराजित भएका छन् । पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेललाई रास्वपाका उम्मेदवार सुलभ खरेलले हराएका हुन् । सुलभले ५६ हजार ५५० मत ल्याउँदा पौडेल भने १२ हजार ८६१ मतमै समेटिए ।

यसैगरी, मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला र एमालेका विनोदप्रसाद ढकाल पराजित भए । उक्त निर्वाचन क्षेत्रबाट रास्वपाकी उम्मेदवार रुविना आचार्य निकै ठूलो मतान्तरले विजयी भइन् ।

यसैगरी, मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गुरुप्रसाद घिमिरे, नेकपाका अमनलाल मोदी र एमालेका जीवन घिमिरे पनि पराजित भए । उनीहरू पनि रास्वपाका उम्मेदवार सन्तोष राजवंशीसँग निकै फराकिलो अन्तरले पराजित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापा पराजित भए । उनीहरू पनि रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग ठूलो अन्तरले पराजित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, नेपाली कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँल पराजित भए । उनीहरू पनि रास्वपाकै उम्मेदवार राजुनाथ पाण्डेसँग फराकिलो अन्तरले पराजित भएका हुन् ।

यसैगरी, धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधि, एमालेका जुलीकुमारी महतो (महासेठ) पराजित भए । रास्वपाका उम्मेदवार मनिष झाले उनीहरूलाई स्तब्ध पारेका हुन् ।

यसैगरी, काठमाडौं क्षेत्र नम्बर १ बाट राप्रपाका रवीन्द्र मिश्र पराजित भए । उनी संसदीय निर्वाचनमा लगातार तेस्रोपटक पराजित भएका हुन् । उनलाई पनि रास्वपाकी उम्मेदवार रञ्जु न्यौपानेले पराजित गरेकी हुन् ।

यसैगरी, काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार राजन भट्टराई रास्वपाका पुकार बमसँग पराजित । भट्टराई तेस्रो स्थानमा आए । तेहृथुम क्षेत्र नम्बर १ मा एमालेका भानुभक्त ढकाल नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भए ।

यसैगरी, महोत्तरी क्षेत्र नम्बर १ मा नेकपाका गिरिराजमणि पोखरेल रास्वपाका प्रमोद कुमार महतोसँग पराजित भए । काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कबिर शर्मा, राप्रपाकी कुन्तीदेवी पोखरेल र एमालेका मणिराज फुयाँल रास्वपाका सुनिल केसीसँग पराजित भए ।

भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल रास्वपाका रुकेश रञ्जितसँग पराजित भए । यो निर्वाचन क्षेत्रबाट यसअघि निरन्तर नेमकिपाका उम्मेदवार विजयी हुँदै आएका थिए ।

यसैगरी, बारा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका फरमुल्लाह मन्सुर, एमालेकी ज्वाला कुमारी साह र जनमत पार्टीका प्रमोद प्रसाद गुप्ता पराजित भए । उनीहरूलाई पनि रास्वपाका उम्मेदवार अरविन्द साहले पराजित गरेका हुन् ।

यस्तै, बारा क्षेत्र नम्बर ४ मा एमालेका कृष्ण कुमार श्रेष्ठ र नेकपाका अजय कुशवाह रास्वपाका रहबर अन्सारीसँग पराजित भए । रुपन्देही क्षेत्र नम्बर ४ मा एमालेका प्रमोद कुमार यादव र जसपा नेपालका शर्वेन्द्रनाथ शुक्ला रास्वपाका कन्हैया बनियासँग पराजित भए ।

यसैगरी, पर्वत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी रास्वपाका उम्मेदवार सागर भुसालसँग पराजित भए । 

यसबाहेक एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि एमालेकै महासचिव शंकर पोखरेलसम्म रास्वपाका उम्मेदवारभन्दा निकै ठूलो मतान्तरले पछाडि छन् । 

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा पनि रास्वपा उम्मेदवारभन्दा पछाडि छन् ।

salt training

कमेन्ट गर्नुहोस्