
अमेरिकाको २५० औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा आयोजना गर्न लागेको विशेष र्याली खराब मौसमका कारण प्रभावित हुने सम्भावना देखिएको छ ।
राष्ट्रिय उद्यान (नेशनल मल) क्षेत्रमा आयोजित कार्यक्रमअघि स्थानीय समय अनुसार शनिबार साँझ शक्तिशाली आँधीसहितको वर्षा हुने पूर्वानुमानपछि अधिकारीहरूले खुला स्थानमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । अमेरिकी सिक्रेट सर्भिसले सुरक्षा जाँच केन्द्रमार्फत थप दर्शकलाई प्रवेशसमेत रोकिएको जनाएको छ ।
ट्रम्पले स्थानीय समयअनुसार राति १० बजे सम्बोधन गर्ने कार्यक्रम तय भए पनि मौसमले त्यसमा असर पर्ने वा नपर्नेबारे तत्काल स्पष्ट भएको छैन । कार्यक्रम आयोजक संस्था ‘फ्रिडम २५०’ले सार्वजनिक सुरक्षा निकायले मौसमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
कार्यक्रममा सहभागी हुन सर्वसाधारणले कडा सुरक्षा व्यवस्थाबीच घण्टौं लाममा बसेका थिए । वासिङ्टनमा तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि अत्यधिक गर्मीका कारण केही परेड तथा अन्य कार्यक्रम रद्द गरिएको थियो ।
यसैबीच, श्वेत राष्ट्रवादी समूह ‘प्याट्रियट फ्रन्ट’का सदस्यहरू पनि कार्यक्रममा सहभागी हुन राजधानी पुगेका छन् । सामाजिक सञ्जालमा समूहले आफ्नो उपस्थितिको जानकारी दिएको थियो । स्थानीय प्रहरीले हालसम्म कुनै हिंसात्मक घटना नभएको जनाएको छ ।
अमेरिकामा स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपतिले प्रत्यक्ष राजनीतिक कार्यक्रम गर्ने परम्परा कम भए पनि ट्रम्पले सरकारी समारोहलाई चुनावी शैलीको र्यालीसँग जोड्दै आएका छन् ।
ट्रम्प प्रशासनसँग आबद्ध ‘फ्रिडम २५०’ समूहले राष्ट्रिय मलको ठूलो भागलाई ‘ग्रेट अमेरिकन स्टेट फेयर’का लागि प्रयोग गरेको छ । त्यहाँ फेरिस ह्विल, विभिन्न प्रदर्शनी, रूढिवादी समूह र रक्षा उद्योगसँग सम्बन्धित स्टलहरू राखिएका छन् ।
कार्यक्रममा केही डेमोक्रेट नेतृत्वका राज्यहरूले प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेका छन् भने राजनीतिक पक्षधरता बढेको भन्दै केही कलाकारहरूले आफ्नो प्रस्तुति रद्द गरेका छन् ।
यद्यपि, पछिल्ला दिनमा कार्यक्रममा सहभागी हुनेको संख्या बढ्दै गएको छ । स्मिथसोनियन सङ्ग्रहालय परिसरका पसल तथा रेस्टुरेन्टमा शुक्रबार करिब कीर्तिमानी व्यापार भएको जनाइएको छ ।
‘फ्रिडम २५०’ अन्तर्गत धार्मिक सभा, खेलकुद प्रतियोगिता तथा अन्य कार्यक्रम पनि आयोजना भइरहेका छन् । यद्यपि, कार्यक्रम अत्यधिक राजनीतिक भएको भन्दै आलोचना भइरहेको छ ।
हालै सार्वजनिक राय सर्वेक्षणअनुसार अधिकांश अमेरिकी नागरिकले देशको २५० औं वार्षिकोत्सवका कार्यक्रम अत्यधिक राजनीतिक बनेको धारणा व्यक्त गरेका छन् ।