२२ जेठ २०८३, शुक्रबार
जेनजी आन्दोलन

ओली, लेखकदेखि तत्कालीन आईजीपीसम्मलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस !

फागुन २४, २०८२
काठमाडौं
ओली, लेखकदेखि तत्कालीन आईजीपीसम्मलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस !

गएको भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलगायत उच्चपदस्थ अधिकारीलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले झण्डै ६ महिना लगाएर तयार पारेको प्रतिवेदनमा छानबिनबाट दोषी देखिएको भन्दै कारबाही सिफारिस गरिएको आयोगका एक सदस्यले बताए ।

उनका अनुसार काठमाडौंका तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी (हाल डीआईजी), काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत कारबाही सिफारिस गरिएको छ । 

आयोगले भदौ २३ र २४ गतेको घटनालाई छुट्टा-छुट्टै जाँचबुझ गरेको जनाएको छ । भदौ २३ मा प्रहरीले गोली चलाउँदा शुरूमा १९ जनाको मृत्यु भएको थियो । प्रहरीलाई गोली चलाउन आदेश दिएको भनेर तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, परिस्थिति काबुभन्दा बाहिर जाँदा पनि उपल्लो तहमा रिपोर्टिङ नगरेको भनेर फिल्ड कमान्डरलाई समेत कारबाही सिफारिश गरिएको आयोग स्रोतले जानकारी दिए ।

स्रोतले लोकान्तरसँग भन्यो– ‘हाम्रो जाँचबुझबाट दोषी देखिएकालाई कारबाहीको सिफारिस गरेका छौं, कतिलाई फौजदारी कारबाही भनिएको छ, कतिलाई स्पष्टीकरण सोध्ने भनिएको छ ।’ 

ती अधिकारीका अनुसार आन्दोलनका बेला प्रहरीसँगै सरकारी कार्यालय जोगाउनेलाई पुरस्कार दिन समेत आयोगले सिफारिस गरेको छ । 

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यो प्रतिवेदन सार्वजनिक गर्न आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । उनले भने, 'प्रधानमन्त्रीले प्रतिवेदन अध्ययनपछि सार्वजनिक गर्छु भन्नु भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्