
अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता निर्वाचित भएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, ८८ सदस्यीय धार्मिक निकाय 'विशेषज्ञ सभा'ले उनलाई देशको नयाँ नेताका रूपमा चयन गरेको हो। यो सभासँग सर्वोच्च नेता छान्ने विशेष जिम्मेवारी हुन्छ।
सरकारी टेलिभिजनमा एक प्रस्तोताले सभाको विज्ञप्ति वाचन गर्दै भने, 'गम्भीर युद्धको अवस्था, शत्रुहरूको प्रत्यक्ष धम्की र विशेषज्ञ सभाको सचिवालयमा भएको बम विष्फोटका बाबजुद नेतृत्व चयनको प्रक्रिया रोकिएन। उक्त विष्फोटमा धेरै कर्मचारी र सुरक्षाकर्मीहरू सहिद भएका छन्।' विज्ञप्ति लगत्तै प्रस्तोताले 'अल्लाहु अकबर, खामेनी नेता हुन्' भन्दै नारा लगाएका थिए।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अमेरिका-इजरायली हवाई आक्रमणमा मृत्यु भएपछि धेरैले मोज्तबाको पनि मृत्यु भएको आशंका गरेका थिए। केही दिनसम्म उनीबारे कुनै खबर नआए पनि मार्च ३ मा सरकारी मिडियाले मोज्तबा जीवित रहेको र देशका महत्त्वपूर्ण मामिलाहरूको समीक्षामा संलग्न रहेको जानकारी दिएका थिए।
आफ्ना बुबाको तुलनामा मोज्तबा सधैं 'लो-प्रोफाइल' मा रहने गर्छन्। उनले अहिलेसम्म कुनै सरकारी पद धारण गरेका छैनन्, सार्वजनिक भाषण वा अन्तर्वार्ता दिँदैनन् र उनका तस्बिर वा भिडियोहरू पनि कमै सार्वजनिक हुने गर्छन्।
यद्यपि, सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले जारी गरेको अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई 'पर्दा पछाडिको वास्तविक शक्ति' र शासनभित्रको 'सक्षम एवं दृढ नेता' का रूपमा वर्णन गरिएको थियो।
मोज्तबाको चयनले विवाद उत्पन्न गर्न सक्ने देखिन्छ। सन् १९७९ मा राजतन्त्र अन्त्य गरी स्थापना भएको इस्लामिक गणतन्त्रको विचारधारा अनुसार, सर्वोच्च नेताको छनोट वंशानुगत आधारमा नभई धार्मिक स्थिति र नेतृत्व क्षमताका आधारमा हुनुपर्छ।
दुई वर्षअघि विशेषज्ञ सभाका एक सदस्यले अली खामेनीले नै आफ्ना छोरा नेता बन्ने विचारको विरोध गरेको बताएका थिए। तर, यसबारे अली खामेनीले सार्वजनिक रूपमा कहिल्यै कुनै टिप्पणी गरेनन्।
८ सेप्टेम्बर १९६९ मा मशहदमा जन्मेका मोज्तबा अली खामेनीका ६ सन्तानमध्ये दोस्रो हुन्। उनले तेहरानको 'अलावी स्कूल' बाट माध्यमिक शिक्षा पूरा गरे। १७ वर्षको उमेरमा उनले इरान-इराक युद्धमा छोटो समय सेनामा सेवा गरेका थिए।
सन् १९९९ मा उनी धार्मिक अध्ययनका लागि शिया धर्मशास्त्रको केन्द्र मानिने पवित्र सहर कोम गए। ३० वर्षको उमेरमा मदरसा अध्ययन सुरु गरेका उनी अझै पनि मध्यम-स्तरीय धर्मगुरु नै हुन्। सर्वोच्च नेता बन्न यो एक बाधा हुन सक्ने भए तापनि पछिल्लो समय इरानी सञ्चारमाध्यम र अधिकारीहरूले उनलाई 'अयातोल्लाह' भन्न थालेका छन्। यो उनको धार्मिक कद बढाएर नेतृत्वका लागि योग्य देखाउने प्रयास मानिन्छ।
यसअघि सन् १९८९ मा अली खामेनी सर्वोच्च नेता बन्दा पनि उनलाई रातारात 'अयातोल्लाह' को दर्जा दिइएको थियो।
मोज्तबाको नाम सन् २००५ को राष्ट्रपति चुनावमा पहिलो पटक चर्चामा आएको थियो। सुधारवादी उम्मेदवार मेहदी करुबीले मोज्तबाले सेना र बासिज मिलिशियामार्फत चुनावमा हस्तक्षेप गरी कट्टरपन्थी महमुद अहमदिनेजादलाई जिताएको आरोप लगाएका थिए। सन् २००९ को 'हरियो आन्दोलन' ताका पनि प्रदर्शनकारीहरूले मोज्तबाको उत्तराधिकारको विरोधमा नारा लगाएका थिए।
धेरैको विश्वास छ कि मोज्तबाले आफ्ना बुबाकै कट्टरपन्थी नीतिहरूलाई निरन्तरता दिनेछन्। उनका लागि सबैभन्दा ठूलो चुनौती इस्लामिक गणतन्त्रको अस्तित्व जोगाउनु र देशलाई आर्थिक एवं राजनीतिक संकटबाट बाहिर निकाल्नु हुनेछ। साथै, इजरायल र अमेरिकाको निशानामा रहनु उनका लागि अर्को ठूलो सुरक्षा चुनौती हो।