
सुर्खेत एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जना १८ वर्ष मुनिका छन् ।
पूर्वी सुर्खेतको गुर्भाकोट घर भएर वीरेन्द्रनगरमा बसेर पढ्दै आएकी १६ वर्षीया इनिसा विक यही फागुन २३ गते जागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रदेश अस्पताल कालागाउँमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार मृतकका परिवारले जाहेरी दिएपछि चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । इनिसा ट्युसन पढ्न भनेर फागुन २३ गते बिहान घरबाट निस्किएकी थिइन् ।
अबेरसम्म पनि उनी घर नफर्किएपछि आमाले सम्पर्क गर्न खोज्दा फोन स्विच अफ थियो । बिहान ९ बजेसम्म पनि छोरी नफर्किएपछि अत्तालिएकी उनकी आमालाई घटनास्थलबाट एक जनाले फोन गरेर ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा मृत फेला परेकी छिन्, आउनुस्’ भनेर भनेपछि प्रहरी समेत घटनास्थल पुगेको थियो ।
एसपी शाहीका अनुसार शुरूमा एक जना किशोर पक्राउ गरेर अनुसन्धान गर्दा थप तीन जनामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिइएको हो । ‘किशोरीको बलात्कार गरेको आशंकामा हामीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ शाहीले लोकान्तरसँग भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप तथ्य खुल्छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा हाल प्रहरीको नियन्त्रणमा रहेका चारै जना घटनामा संलग्न रहेको देखिएको शाहीले बताए ।