
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे ।
भेटमा चिनियाँ राजदूत माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
गृहमन्त्री अर्यालले चीनले आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको सहयोगको निरन्तरता र भविष्यमा हुने सहयोग थप बढ्ने बताए । उनले टेलिकम क्षेत्र र साइबर क्राइमको क्षेत्रमा बहुपक्षीय सहयोग र सहकार्यको प्रस्ताव गरेका थिए ।
राजदूत माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिए ।
उनले निर्वाचन सुरक्षा, सीमा सुरक्षा व्यस्थापनमा गरेका कामको उच्च प्रशंसा गर्दै नेपाल चीनको ऐतिहासिक सम्बन्ध अझै थप बलियो बनाउने प्रतिवद्धता जनाए ।
राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा स्वतन्त्रता प्रति चीनको निरन्तर प्रतिवद्धता रहेको बताए ।
उनले गृहमन्त्री अर्याललाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे ।