
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखले सजिलो जीत हासिल गरेको छ । बायर्न म्युनिखले इटालियन प्रतिद्वन्द्वी एटलान्टालाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
प्रभावशाली खेलाडी ह्यारी केनको अनुपस्थितिमा बायर्न म्युनिखका लागि माइकल ओलिस नायक बने । पिठ्युँको समस्याका कारण कप्तान केन अनुपस्थित थिए । बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखका लागि ओलिसले निर्धारित समयको २२औँ र ६४औँ मिनेटमा गोल गरे ।
खेल शुरू भएको १२औँ मिनेटमा बायर्न म्युनिखका लागि जोसिप स्टानिसिचले पहिलो गोल गरे । विजयी टोलीका लागि थप तीन गोल सर्जी ग्नाब्री (२५औँ मिनेट), निकोलस ज्याक्सन (५२औँ मिनेट) र जमाल मुसियाला (६७औँ मिनेट)ले गरे ।
एटलान्टाका लागि भने एकमात्र गोल दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा मारियो पासालिचले गरेका थिए । जितसँगै बायर्न म्युनिखले क्वार्टरफाइनल प्रवेशको सम्भावना निकै बलियो बनाएको छ ।
अन्तिम १६ टोलीबीचको दोस्रो लेग खेल मार्च १८ तारिखमा खेलिने छ ।