२४ जेठ २०८३, आइतबार

फेक रेस्क्यू प्रकरणमा नयाँ खुलासा: बीमा दाबीका लागि अस्पतालको झेलैझेल

फागुन २७, २०८२
काठमाडौं
फेक रेस्क्यू प्रकरणमा नयाँ खुलासा: बीमा दाबीका लागि अस्पतालको झेलैझेल

काठमाडौंको लाजिम्पाटमा सञ्चालित श्रीद्धि इन्टरनेशनल अस्पतालले फेक रेक्यूका नाममा ल्याइएका विदेशी पदयात्रीमाथि गर्दै आएको ज्यादतीको पर्दाफास भएको छ ।

यो अस्पतालले फेक रेस्क्यूमार्फत् भर्ना हुन आएका बिरामीको ‘हेल्थ रिपोर्ट कार्ड’मा चिकित्सकको कीर्ते हस्ताक्षर र अनधिकृत छाप प्रयोग गरेको भेटिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्दा सो अस्पतालमा भर्ना भएका बिरामीको नक्कली स्वास्थ्य रिपोर्ट बनाई एक डाक्टरको नाममा ६ सय २७ र अर्को डाक्टरको नाममा एक सय २७ भन्दा बढी हस्ताक्षर प्रयोग भएको देखिएको हो ।

सीआईबीले अस्पतालका अध्यक्ष डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ ।

अचम्मको कुरा त अस्पतालको वेबसाइटमा अस्पतालसँग कुनै सरोकार नै नभएका चिकित्सकहरूको नाम राखेर आफ्नो ‘ब्रान्डिङ’ गरेको तथ्य खुलेको छ ।

सीआईबीले अनुसन्धान गर्दा पर्यटकहरूलाई बिरामी भनी अस्पतालमा भर्ना गरेको देखाए पनि उनीहरू भने होटल तथा अन्यत्र घुम्न जाने गरेको पाइएको छ ।

null

सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार अस्पतालको कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

‘अस्पतालमा नभएका बेड नम्बरहरू क्रमशः १०१ देखि १०६, १०९ देखि ११२ र २०१ देखि २०६ मा भर्ना भएको देखाई उनीहरूलाई होटल वा अन्यत्र जाने सुविधा दिइएको पाइयो,’ सीआईबीका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘अस्पतालमा भने १०७, १०८, २०७ देखि २१२ र ३०१ देखि ३०३ नम्बरका बेड मात्रै बिरामीका लागि प्रयोग भएको देखियो ।’

बिरामीमाथि अनावश्यक दबाब

यो अस्पतालले भर्ना हुन आएका पर्यटकहरूलाई अनावश्यक दबाब दिँदै आएको पाइएको छ ।

हेलिकप्टरबाट आएका पर्यटक बिरामीले भर्ना हुन इन्कार गर्दा पनि नगद भुक्तानीका लागि जबर्जस्ती दबाब दिने गरेको सीआईबीले जनाएको छ ।

अस्पतालले बिरामीलाई कार्ड पेमेन्ट गर्न भन्दै पीओएस मशिन समेत राखेको पाइएको छ ।

स्रोतले भन्यो, ‘कार्ड वा नगदमार्फत् भुक्तानी दिन दबाब दिन अस्पतालले पर्यटकको राहदानी समेत होल्ड गर्ने जस्ता गैरकानूनी काम गर्दै आएको देखियो ।’

अचम्मको कुरा त श्रीद्धिले एकै उडानमा आएका वा एकै परिवारका सदस्यलाई फरक–फरक मितिमा भर्ना भएको देखाई बीमा दाबी गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

null

अस्पतालमा भर्ना भएको कागजात बनाइएका पर्यटकहरू काठमाडौंका लक्जरी होटलमा बसेको विवरण समेत सीआईबीले फेला पारेको छ । 

सीआईबीका अनुसन्धान अधिकृत भन्छन्, ‘बिरामीलाई बीमा कम्पनीले कुरा गर्न वा लोकल एजेन्टले भेट्न खोज्दा बिरामी सुतिरहेको वा ल्याब टेष्टमा गएको बहाना बनाएर पर्यटकलाई भेट्न नदिएको पाइयो ।’

रेस्क्यू कम्पनीलाई कमिसन !

अस्पतालले बीमा दाबीबाट प्राप्त रकममध्ये १० प्रतिशत रेस्क्यू कम्पनीलाई र ३० प्रतिशत ट्रेकिङ कम्पनीलाई अवैध कमिसन दिने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

स्रोतले भन्यो, ‘रेस्क्यू कम्पनीले अस्पतालमा बिरामी लगिदिएबापत उसलाई बीमा बापतको १० प्रतिशत र ट्रेकिङ कम्पनीलाई ३० प्रतिशतसम्म दिने गरेको देखियो ।’

अस्पतालले बिरामी भनेर राखिएका पर्यटकलाई बियर समेत उपलब्ध गराउँदै आएको पाइएको छ । प्रहरीका अनुसार अस्पतालको हाताभित्र ‘वार्म अफ कर्नर क्याफे एन्ड बार’ सञ्चालन गरी मदिरा बिक्री गर्दै आएको देखियो । त्यहाँ भर्ना भएका बिरामी भनिएका पर्यटकले समेत बियर पिउँदै आएका थिए ।

null

चार वर्षमा ९ करोड २४ लाख बढी अमेरिकी डलर बीमा दाबी

सीआईबीले अनुसन्धान गर्दा श्रीद्धिले सन् २०२२ देखि २०२५ सम्मको अवधिमा ७ सय ४९ जनाभन्दा बढी पर्यटकको उपचार गरेको देखिन्छ ।

यस अवधिमा नगद र कार्ड पेमेन्टबाहेक बैकिङ कारोबारमार्फत् ९ करोड २४ लाख ४८ हजार ९०५ बराबरको अमेरिकी डलर बीमा दाबी गरी प्राप्त गरेको देखिन्छ ।

‘बिरामीले भर्ना हुन्न भन्दा पनि जबर्जस्ती भर्ना गराई नक्कली रिपोर्ट कार्ड बनाएर बीमा रकम दाबी गरेको देखिन्छ,’ सीआईबीले भन्यो, ‘अस्पतालको बैंकिङ कारोबार हेर्दा हामी छक्क पर्‍यौं ।’

salt training

कमेन्ट गर्नुहोस्