हिमाली क्षेत्रमा 'फेक रेस्क्यू' (नक्कली उद्धार) गरी विदेशी पर्यटकको बीमा रकम ठगी गर्ने कार्यमा संलग्न थप एक जना ट्रेकिङ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले 'पानोरामा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसन' का सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई काठमाडौँबाट पक्राउ गरेको हो।
सोलुखुम्बु घर भएका शेर्पामाथि पर्यटकीय क्षेत्रमा पर्यटकको सहमतिविना नै हेलिकप्टर मगाएर नक्कली स्वास्थ्य समस्या देखाई बीमा रकम दाबी गर्ने गिरोहमा संलग्न रहेको आरोप छ।
सीआईबीका अनुसार विभिन्न ट्रेकिङ, रेस्क्यू र हेलिकप्टर कम्पनीहरूले अस्पतालसँगको मिलेमतोमा नक्कली मेडिकल रिपोर्ट र बिल तयार पारी बीमा कम्पनीबाट मोटो रकम असुल्दै आएका थिए।
यस्तो ठगी धन्दाका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालको पर्यटन क्षेत्रको बद्नाम भएको र नेपाललाई 'नो-गो' गन्तव्य बनाउनुपर्ने जस्ता नकारात्मक प्रचार भएको ब्यूरोले जनाएको छ।
सन् २०१५ मा दुई विदेशी पर्यटकले आफ्नो स्वीकृतिविना हेलिकप्टर मगाएर अस्पताल भर्ना गरी बीमा दाबी गरिएको भनी दिएको उजुरीका आधारमा ब्यूरोले अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका शेर्पामाथि मुलुकी अपराध संहिता २०७४ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल र हेलिकप्टर कम्पनीका सञ्चालक एवं शेयरधनी गरी जम्मा १० जना पक्राउ परिसकेका छन्।