२९ जेठ २०८३, शुक्रबार

अक्सनमा पाकिस्तानी खेलाडी किनेपछि सनराइजर्स र मालिक काब्या मारनविरुद्ध खनिए समर्थक

फागुन २९, २०८२
काठमाडौं
अक्सनमा पाकिस्तानी खेलाडी किनेपछि सनराइजर्स र मालिक काब्या मारनविरुद्ध खनिए समर्थक

इङ्ल्यान्डमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’को अक्सन (खेलाडी खरिद–बिक्री) प्रक्रियापछि सनराइजर्स लिड्सकी मालिक काव्या मारनको भारतमा व्यापक आलोचना भइरहेको छ ।

द हन्ड्रेन्डको आगामी सिजनका लागि बिहीबार खेलाडी अक्सन भएको थियो । अक्सनमा सनराइजर्स लिड्सले पाकिस्तानी स्पिनर अबरार अहमदलाई ठूलो रकममा खरिद गरेको थियो । अक्सनमा पाकिस्तानी खेलाडीलाई खरिद गरेपछि भारतमा काव्या मारनको विरोध शुरू भएको हो ।

अहिले भारतीय समर्थकले फेसबुक, एक्स, इन्स्टाग्रामजस्ता समाजिक सञ्जालमा सनराइजर्स र काव्या मारनको निकै आलोचना गरिरहेका छन् । काव्या मारनले राष्ट्रिय भावनाविपरीतको काम गरेको सामर्थकको आरोप छ ।

काव्या मारन इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादकी मालिक पनि हुन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, सनराइजर्सको आधिकारिक ‘एक्स’ अकाउन्ट पनि रद्द गरिएको छ ।

क्लबले ‘एक्स’ अकाउन्ट रद्द गरिनुको कारण केही खुलाइएको छैन । यद्दपि, समर्थकहरूको आक्रोशका कारण यस्तो गरिएको अनुमान छ । द हन्ड्रेड चर्चित फ्रेन्चाइज लिग हो । यो लिगको खेल केवल एक सय बलको हुन्छ ।

आगामी सिजनको द हन्ड्रेड लिगका लागि अक्सनमा पाकिस्तानका १४ खेलाडी सहभागी थिए । त्यसमध्ये केवल दुई खेलाडी बिक्री भए । अक्सनमा अबरार अहमदसँगै अर्का पाकिस्तानी खेलाडी उस्मान तारिक पनि बिक्री भएका थिए ।

अक्सनमा काव्या मारनको क्लबले अबरार अहमदलाई दुई करोड १२ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । अबरार अहमदलाई खरिद गर्नासाथ भारतीय समर्थकले सामाजिक सञ्जालमा ‘सनराइजर्सलाई बहिस्कार गरौँ’ भन्ने अभियान चलाएका थिए ।

समाचारमा जनाइए अनुसार, प्रशिक्षक ड्यानियल भेट्टोरीको सल्लाहमा सनराइजर्सले अबरार अहमदलाई खरिद गरेको हो । अघिल्लो वर्ष सन ग्रुपले सनराइजर्स लिड्स टोली खरिद गरेको हो ।

भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धको असर क्रिकेटमा पनि देखिन्छ । विश्व क्रिकेटमा यी दुई राष्ट्रलाई एक–अर्काको चिरप्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । त्यसैले आईपीएलमा पनि कुनै टोलीले पाकिस्तानी खेलाडीलाई खरिद गर्दैनन् ।

salt training

कमेन्ट गर्नुहोस्