०३ साउन २०८३, आइतबार

सुनसरी-१ मा प्रत्यक्षमा हर्क साम्पाङलाई समर्थन गरेको प्रलोपाले समानुपातिकमा जम्मा ७४ मत पायो

फागुन २९, २०८२
विराटनगर
सुनसरी-१ मा प्रत्यक्षमा हर्क साम्पाङलाई समर्थन गरेको प्रलोपाले समानुपातिकमा जम्मा ७४ मत पायो

फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मत गणना सकिएलगत्तै पूर्वमन्त्रीसमेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेख्दै श्रम संस्कृति पार्टीका विजयी उम्मेदवारहरूलाई बधाई दिए । प्रलोपाले सुनसरी–१ मा हकै साम्पाङ नेतृत्वको श्रम संस्कृतिलाई समर्थन गरेको थियो ।

निर्वाचनको अन्तिम नतिजा आएलगत्तै किरातीले फेसबुकमा लेखेका थिए, ‘हामीले श्रम संस्कृति पार्टीको उम्मेदवारहरूलाई सुनसरी–१, भोजपुर र खोटाङमा नि:सर्त समर्थन गरेका थियौँ । निर्वाचित साथीहरूलाई हार्दिक बधाई !’

उनले अमूल्य भोट दिने नागरिकलाई अभिनन्दन गर्दै भोक, तिर्खा र निद्रा त्यागेर मैदानमा खट्ने महानुभावहरूलाई धन्यवाद पनि दिए । विजयी उम्मेदवारहरूलाई चुनावको समयमा जनतासँग गरेका वाचा पूरा गर्न सुझाव दिँदै उनले बाँकी दिनमा आफ्नो पार्टीको भूमिका रचनात्मक हुने दाबीसमेत गरे । तर, रोचक कुरा के छ भने, जुन उम्मेदवारलाई उनले ‘समर्थन’ गरेको र ‘जिताएको’ आशय व्यक्त गरे, ती क्षेत्रमा उनको आफ्नो पार्टीले पाएको मत परिणाम भने ‘लज्जास्पद’ देखिएको छ ।

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भइरहँदा, उनलाई ‘समर्थन’ गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीले सोही जिल्लामा समानुपातिकतर्फ जम्मा ४० मत मात्र प्राप्त गरेको छ ।

त्यस्तै अवस्था सुनसरी–१ मा पनि देखिएको छ । त्यहाँ हर्क साम्पाङले ३५ हजार ७११ मतका साथ सानदार जीत दर्ता गर्दा उनलाई सघाएको दाबी गर्ने प्रलोपाले जम्मा ७४ मतमा चित्त बुझाउनुपरेको छ ।

सुदन किरातीको आफ्नै गृहजिल्ला भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुव राई १६ हजार ६६३ मतका साथ विजयी भए । तर, कुनै समय सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीको कुर्सीमा समेत बसिसकेका किरातीको पार्टीले आफ्नो गढ मानिने भोजपुरमै जम्मा ४५० मत मात्रै बटुल्न सफल भयो ।

यो निर्वाचनमा श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा आफ्नो छुट्टै र बलियो पहिचान स्थापित गरेको छ ।  खोटाङमा श्रम संस्कृति पार्टी १८ हजार १३७ मतसहित प्रथम स्थानमा छ भने भोजपुरमा १६ हजार १५० मत र सुनसरी–१ मा ३२ हजार २३० मत प्राप्त गरेको छ । कोशी प्रदेशको समानुपातिक मतको ट्रेण्ड हेर्ने हो भने श्रम संस्कृति पार्टीले स्थापित ठूला दलहरूलाई समेत धक्का दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ८ लाख ५३ हजार १८३ मतसहित पहिलो पार्टी बन्दा श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ०४९ मतसहित दोस्रो स्थानमा उक्लिएको छ ।

पुराना र स्थापित शक्ति मानिने नेपाली कांग्रेस र नेकपा एमालेलाई समेत श्रम संस्मृतिले पछि पारेको छ । कांग्रेसले २ लाख ९० हजार ५६२ मत ल्याउँदा एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गरेको छ । नेकपा भने ९७ हजार ६७९ मतमा सीमित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्