नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले पार्टी सभापति गगन थापा पराजित हुनु मधेश प्रदेशकै लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका यादवले पार्टी सभापति सर्लाही–४ बाट पराजित हुनु मधेश प्रदेशसहित आफूहरूको लागि दुर्भाग्यपूर्ण भएको बताएका हुन्।
मधेशमा धेरै काम गर्न सकिन्छ भनेर सभापति थापा आए पनि जनताले बुझ्न नसकेको उनको भनाइ छ। ‘हाम्रो सभापति गगन थापा मधेशमा आएर काम गर्न सक्ने धेरै ठाउँ छ, काम गर्न सकिन्छ भनेर जिम्मेवारी बोध गरी आउनुभएको थियो तर, मधेशका जनताले बुझेनन्। अब बुझेनन् भने हाम्रो दुर्भाग्य हो, के भन्नु त्यसमा,’ यादवले लोकान्तरसँग भने, ‘उहाँ उठिसकेपछि हामी सबैले उहाँलाई सहयोग गर्यौँ तर परिणाम आउन सकेन।’
बदलिएको कांग्रेसको विषयमा जनतासमक्ष म्यासेज पुर्याउन नसकिएको उनले बताए। ‘हाम्रो सभापति गगनजीले पनि दिनरात सभा–सम्मेलनमा आफ्नो योजना प्रस्तुत गर्नुभयो, भावी नीति कार्यक्रम प्रस्तुत गर्नुभयो। उहाँले प्रतिबद्धताहरू प्रस्तुत गर्नुभयो,’ यादवले लोकान्तरसँग भने, ‘बाहिरबाट हेर्दा सब ठीक लाग्थ्यो तर भित्र युवाहरूको दिमागमा के बसेको रहेछ? कताबाट उहाँहरू फ्यासिलिटेट हुनुभयो, त्यो मैले बुझ्न सकिनँ।’
यस पटकको निर्वाचनमा पार्टीमा कुनै अन्तर्घात नभएको उनले बताए। पार्टीले पराजय बेहोरे पनि पार्टी नेतृत्वमा सभापति गगन थापा नै रहनुपर्ने उनको भनाइ छ। ‘पार्टी सभापति गगनजीले राजीनामा दिएर समस्या समाधान हुँदैन। राजीनामा दिएर भाग्नु भनेको आत्मसमर्पण गर्नु हो। समस्यासँग जुध्नुपर्छ, परिस्थितिलाई ट्याकल गर्नुपर्छ र सामना गर्नुपर्छ। निकास त्यसमै खोज्नुपर्छ। त्यो मान्छेको एउटा बहादुरी हो,’ उनले थपे, ‘होइन अब म यसमा फेलियर भएँ, म अब रिजाइन दिएर म छोड्दिन्छु भनेपछि तपाईंले यो सिस्टमलाई कोल्याप्सतिर लाने हो।’
पार्टी सभापति थापाले राजीनामा दिनुभन्दा पनि अझ सशक्त बनेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ।