
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।
जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने उनको भनाइ छ ।
‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’, पाण्डेले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले एमालेको पराजय कुनै षड्यन्त्र नभएर एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश रहेको बताएका छन् ।
‘यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैंलाई धोका दिनु हो । मानौं, कसैले फसायो होला, अन्तर्घात भयो होला तर अन्तर्घातले ५-१० हजार मत तलमाथि होला । देखिएको ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो’, पाण्डेले लेखेका छन् ।
उनले अब पनि एमालेले आफ्नो तरिका बदल्ने आँट गरेन र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यो भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुने उल्लेख गरेका छन् ।