०९ साउन २०८३, शनिबार
लम्बिँदै युद्ध, अहसज बन्दै जनजीवन

इरान युद्ध तेस्रो सातामा, तेलको मूल्य प्रतिब्यारेल १०५ डलर नाघ्यो

चैत २, २०८२
काठमाडौं
इरान युद्ध तेस्रो सातामा, तेलको मूल्य प्रतिब्यारेल १०५ डलर नाघ्यो

इरानमा जारी युद्ध तेस्रो सातामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ । 

अमेरिकी प्रशासनले युद्ध अझ केही हप्ता लम्बिन सक्ने संकेत दिएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल ट्यांकरहरूको आवतजावत पुनः सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेपछि तेलको मूल्य उकालो लागेको हो ।

विश्व बजारको मानक मानिने ब्रेन्ट क्रुडको मूल्य आइतबार साँझ २.९ प्रतिशतले बढेर प्रतिब्यारेल करिब १०६.१२ डलर पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्य पनि २.६ प्रतिशतले बढेर १०१.५३ डलर पुगेको छ ।

अमेरिका र इजरायलको नेतृत्वमा इरानविरुद्ध शुरू भएको युद्ध अहिले तेस्रो सातामा पुगेको छ । यसका कारण विश्व ऊर्जा बजारमा अहिलेसम्मकै ठूलो अवरोध उत्पन्न भएको बताइन्छ । 

इरानको नियन्त्रणमा रहेको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज युद्ध शुरू भएयता तेल ट्यांकरहरूका लागि लगभग बन्दजस्तै बनेको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ ।

अमेरिकी प्रशासनले भने समुद्री मार्गमा जहाज आवतजावतबारे बढ्दो चिन्तालाई कम गर्ने प्रयास गर्दै आएको छ । ट्रम्पले मध्यपूर्वबाट बाहिरिने तेल ट्यांकरहरूलाई सुरक्षा दिन अमेरिकी नौसैनिक बल परिचालन गरिने बताएका छन् । तर अमेरिकी प्रशासनले हालै मात्र नौसेना पूर्ण रूपमा तयार हुन अझ केही हप्ता लाग्न सक्ने स्वीकार गरेको छ ।

ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमामा लेख्दै तेल आपूर्ति पुनः सञ्चालन गर्न जलमार्ग खोल्न अन्य देशहरूले पनि समन्वय गरेर सहयोग गर्नुपर्ने बताएका छन् । उनले तेलको प्रवाह छिटो, सहज र व्यवस्थित रूपमा पुनः सञ्चालन हुनुपर्ने उल्लेख गरेका छन् ।

तेल बजारमा नियमित कारोबार समयबाहिर हुने व्यापारमा मूल्य बढी उतारचढाव हुने गर्दछ, किनकि कम कारोबार हुँदा लगानीकर्ताहरूले आफ्नो जोखिम सन्तुलन गर्न थाल्छन् ।

गत आइतबार तेलको मूल्य झण्डै १२० डलर प्रतिब्यारेलसम्म पुगेको थियो भने सोमबार दिनभर भने करिब १०० डलर आसपासमा स्थिर भएको थियो ।

यसैबीच, इरानले दबाब अझ बढाएको छ । इरानले जलडमरू क्षेत्रमा बारुद बिछ्याएको तथा अमेरिकासँग सम्बन्धित तेल तथा ग्यास पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । फेब्रुअरी २८ मा युद्ध शुरू भएयता स्ट्रेट अफ होर्मुज मा केही तेल ट्यांकरहरू पनि आक्रमणको निशानामा परेका छन् ।

उता अमेरिकाले इरानको अधिकांश तेल उत्पादन हुने केन्द्र खार्ग आइल्यान्डमा पनि बमबारी गरेको छ । यद्यपि अमेरिकी प्रशासनले हालका लागि इरानको तेल उत्पादन पूर्ण रूपमा लक्षित नगरेको जनाएको छ ।

साथै, अमेरिकी प्रशासनले बढ्दो इन्धन मूल्य नियन्त्रण गर्न देशभित्रै तेल उत्पादन विस्तार गर्ने प्रयास पनि थालेको छ । शनिबार अमेरिकाको खाडी क्षेत्रमा बीपीको नयाँ परियोजनालाई स्वीकृति दिइएको छ, जुन डिपवाटर होराइजन दुर्घटनापछि कम्पनीको पहिलो नयाँ परियोजना हो ।

यसैबीच, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य देशहरूले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा छाड्ने सहमति गरेका छन् । यो संस्थाको इतिहासकै सबैभन्दा ठूलो संयुक्त कदम मानिएको छ, यद्यपि अमेरिका र युरोपबाट आउने तेल मार्चको अन्त्यपछि मात्रै बजारमा आउने बताइएको छ ।

विश्वव्यापी आपूर्ति अवरोधका कारण अमेरिकामा पनि पेट्रोलको मूल्य बढिरहेको छ । युद्ध शुरू भएयता अमेरिकामा पेट्रोलको औसत मूल्य २४ प्रतिशतले बढेर प्रतिग्यालन ३.७० डलर पुगेको छ ।

यो वृद्धिले ट्रम्पको प्रमुख दाबीलाई चुनौती दिएको छ । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पेट्रोलको मूल्य घटेको बताउँदै आएका थिए, विशेषगरी गत डिसेम्बरमा मूल्य प्रतिग्यालन ३ डलरभन्दा तल झरेको थियो, जुन मे २०२१ यताकै सबैभन्दा कम स्तर थियो ।

होर्मुज जलडमरू बन्द हुँदा यसको प्रभाव तेलमा मात्र सीमित हुँदैन । विश्वका धेरै किसानहरूले यही मार्ग हुँदै आउने मलमा निर्भर रहने भएकाले खाद्यान्नको मूल्यमा पनि असर पर्न सक्छ । 

साथै, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी र माछाजस्ता चाँडै बिग्रिने वस्तुहरूको ढुवानी महँगो हुन सक्ने भएकाले बजार मूल्य पनि बढ्न सक्ने विश्लेषण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्