
इरानमा जारी युद्ध तेस्रो सातामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ ।
अमेरिकी प्रशासनले युद्ध अझ केही हप्ता लम्बिन सक्ने संकेत दिएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल ट्यांकरहरूको आवतजावत पुनः सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेपछि तेलको मूल्य उकालो लागेको हो ।
विश्व बजारको मानक मानिने ब्रेन्ट क्रुडको मूल्य आइतबार साँझ २.९ प्रतिशतले बढेर प्रतिब्यारेल करिब १०६.१२ डलर पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्य पनि २.६ प्रतिशतले बढेर १०१.५३ डलर पुगेको छ ।
अमेरिका र इजरायलको नेतृत्वमा इरानविरुद्ध शुरू भएको युद्ध अहिले तेस्रो सातामा पुगेको छ । यसका कारण विश्व ऊर्जा बजारमा अहिलेसम्मकै ठूलो अवरोध उत्पन्न भएको बताइन्छ ।
इरानको नियन्त्रणमा रहेको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज युद्ध शुरू भएयता तेल ट्यांकरहरूका लागि लगभग बन्दजस्तै बनेको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ ।
अमेरिकी प्रशासनले भने समुद्री मार्गमा जहाज आवतजावतबारे बढ्दो चिन्तालाई कम गर्ने प्रयास गर्दै आएको छ । ट्रम्पले मध्यपूर्वबाट बाहिरिने तेल ट्यांकरहरूलाई सुरक्षा दिन अमेरिकी नौसैनिक बल परिचालन गरिने बताएका छन् । तर अमेरिकी प्रशासनले हालै मात्र नौसेना पूर्ण रूपमा तयार हुन अझ केही हप्ता लाग्न सक्ने स्वीकार गरेको छ ।
ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमामा लेख्दै तेल आपूर्ति पुनः सञ्चालन गर्न जलमार्ग खोल्न अन्य देशहरूले पनि समन्वय गरेर सहयोग गर्नुपर्ने बताएका छन् । उनले तेलको प्रवाह छिटो, सहज र व्यवस्थित रूपमा पुनः सञ्चालन हुनुपर्ने उल्लेख गरेका छन् ।
तेल बजारमा नियमित कारोबार समयबाहिर हुने व्यापारमा मूल्य बढी उतारचढाव हुने गर्दछ, किनकि कम कारोबार हुँदा लगानीकर्ताहरूले आफ्नो जोखिम सन्तुलन गर्न थाल्छन् ।
गत आइतबार तेलको मूल्य झण्डै १२० डलर प्रतिब्यारेलसम्म पुगेको थियो भने सोमबार दिनभर भने करिब १०० डलर आसपासमा स्थिर भएको थियो ।
यसैबीच, इरानले दबाब अझ बढाएको छ । इरानले जलडमरू क्षेत्रमा बारुद बिछ्याएको तथा अमेरिकासँग सम्बन्धित तेल तथा ग्यास पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । फेब्रुअरी २८ मा युद्ध शुरू भएयता स्ट्रेट अफ होर्मुज मा केही तेल ट्यांकरहरू पनि आक्रमणको निशानामा परेका छन् ।
उता अमेरिकाले इरानको अधिकांश तेल उत्पादन हुने केन्द्र खार्ग आइल्यान्डमा पनि बमबारी गरेको छ । यद्यपि अमेरिकी प्रशासनले हालका लागि इरानको तेल उत्पादन पूर्ण रूपमा लक्षित नगरेको जनाएको छ ।
साथै, अमेरिकी प्रशासनले बढ्दो इन्धन मूल्य नियन्त्रण गर्न देशभित्रै तेल उत्पादन विस्तार गर्ने प्रयास पनि थालेको छ । शनिबार अमेरिकाको खाडी क्षेत्रमा बीपीको नयाँ परियोजनालाई स्वीकृति दिइएको छ, जुन डिपवाटर होराइजन दुर्घटनापछि कम्पनीको पहिलो नयाँ परियोजना हो ।
यसैबीच, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य देशहरूले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा छाड्ने सहमति गरेका छन् । यो संस्थाको इतिहासकै सबैभन्दा ठूलो संयुक्त कदम मानिएको छ, यद्यपि अमेरिका र युरोपबाट आउने तेल मार्चको अन्त्यपछि मात्रै बजारमा आउने बताइएको छ ।
विश्वव्यापी आपूर्ति अवरोधका कारण अमेरिकामा पनि पेट्रोलको मूल्य बढिरहेको छ । युद्ध शुरू भएयता अमेरिकामा पेट्रोलको औसत मूल्य २४ प्रतिशतले बढेर प्रतिग्यालन ३.७० डलर पुगेको छ ।
यो वृद्धिले ट्रम्पको प्रमुख दाबीलाई चुनौती दिएको छ । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पेट्रोलको मूल्य घटेको बताउँदै आएका थिए, विशेषगरी गत डिसेम्बरमा मूल्य प्रतिग्यालन ३ डलरभन्दा तल झरेको थियो, जुन मे २०२१ यताकै सबैभन्दा कम स्तर थियो ।
होर्मुज जलडमरू बन्द हुँदा यसको प्रभाव तेलमा मात्र सीमित हुँदैन । विश्वका धेरै किसानहरूले यही मार्ग हुँदै आउने मलमा निर्भर रहने भएकाले खाद्यान्नको मूल्यमा पनि असर पर्न सक्छ ।
साथै, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी र माछाजस्ता चाँडै बिग्रिने वस्तुहरूको ढुवानी महँगो हुन सक्ने भएकाले बजार मूल्य पनि बढ्न सक्ने विश्लेषण गरिएको छ ।