
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजको सुरक्षामा सहयोग नगरे नाटोको भविष्यमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।
फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले नाटोका सदस्य राष्ट्रहरूले उक्त जलमार्गको सुरक्षा सुनिश्चित गर्न सहयोग नगरे 'नाटोको भविष्यका लागि अत्यन्त नराम्रो' हुने बताएका हुन् ।
उनले चीनले पनि यो जलमार्गको सुरक्षामा भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन् । चीनले सहयोग नगरेमा आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने आगामी शिखर बैठक स्थगित गर्न सक्ने संकेत समेत दिएका छन् ।
अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने विमान एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले होर्मुज जलमार्गको निगरानी र सुरक्षाका विषयमा करिब सात देशसँग छलफल भइरहेको बताए । सहयोग नगर्ने देशहरूलाई आफूले सम्झिराख्ने चेतावनी पनि उनले दिएका छन् ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले तेहरानले युद्धविरामको माग नगरेको बताएका छन् । अमेरिकासँग वार्ताको कुनै कारण नदेखिएको उनको भनाइ छ । 'हामी उनीहरूसँग वार्ता गरिरहेका बेला नै उनीहरूले हामीमाथि आक्रमण गर्ने निर्णय गरेका थिए,' उनले भने ।
उता, विश्वकै व्यस्त विमानस्थलमध्ये एक दुबई इन्टरनेसनल एयरपोर्टमा ड्रोनसम्बन्धी घटनापछि केही समयका लागि उडान सेवा स्थगित गर्नुपरेको छ ।
यसै क्रममा इजरायलले इरानमा अझै हजारौं लक्ष्य बाँकी रहेको दाबी गर्दै पश्चिम र मध्य क्षेत्रमा आक्रमण विस्तार गर्ने संकेत दिएको छ ।
अमेरिका, इजरायल र इरानबीचको तनाव चर्किँदै जाँदा क्षेत्रीय र विश्व सुरक्षा अवस्थाबारे चिन्ता बढ्दै गएको छ ।