
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ । यही चैत ३ र ४ गते होटल रोयल टुलिप, ग्वार्को, ललितपुरमा कार्यक्रम राखिएको रास्वपाले जनाएको छ ।
उक्त कार्यक्रममा सम्पूर्ण नवनिर्वाचित सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भन्दै रास्वपाले महत्त्वपूर्ण निर्देशनहरू पनि जारी गरेको छ ।
आवासीय हुने कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ ।
यस्तै कार्यक्रममा स्थल अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन जारी भएको छ ।
महामन्त्री कविन्द्र वुर्लाकोटीद्वारा जारी निर्देशनमा सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न भनिएको छ ।
‘होटलमा तपाईंलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ । चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईंको जिम्मेवारी हुनेछ । सो व्यवस्था अन्य होटल वा स्थानमा गर्न अनुरोध छ‚’ निर्देशनमा लेखिएको छ ।
