
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा बस्ने २४ वर्षीय भारतीय नागरिक राधेश्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई हाल पोखरा बस्ने २८ वर्षीय खेमु थापा छन् ।
पोखराको जाल्पारोडस्थित विभिन्न खाजा घरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा उनीहरूले आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई विभिन्न प्रलोभन देखाई खान/बस्न सुविधासहित राम्रो तलबमा होटलको काममा लगाइदिन्छु भन्दै अनैतिक गतिविधिमा लगाउने गरेको पाइएको कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार शुरूमा होटलको काममा लगाउने र केही समय पछि होटलमा आउने पुरुषहरूबाट रकम लिई जबर्जस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुलेको छ ।
उक्त स्थानबाट ४ जना महिलाको समेत उद्धार गरिएको छ ।
पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।