
नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ ।
गत फागुन २१ गते भएको निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टी कामकाजी बनाउन भन्दै नगर कमिटी विघटन गरिएको हो ।
मंगलबार तानसेनमा बसेको बैठकले नगर कमिटीसहित १४ वटै वडा कमिटी विघटन गरेको हो ।
एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले आउँदो जेठ ३ गते अधिवेशन गर्नेगरी नगर कमिटी विघटन भएको जानकारी आफूलाई पनि आएको बताए ।
प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा एमाले पराजित भएको थियो । पाल्पाका दुवै क्षेत्रलाई एमालेले आफ्नो आधार क्षेत्र मान्दै आएको थियो ।
पाल्पा–२ का उम्मेदवार समेत रहेका एमाले केन्द्रीय सदस्य ठाकुर गैरे पनि बैठकमा सहभागी थिए ।
प्रतिनिधिसभा निर्वाचनमा एमालेले पराजय व्यहोरेपछि पार्टी पुनर्गठनको बहस चर्को रूपमा उठ्न थालेको छ ।
नगर अध्यक्ष गुराँस आत्रेयले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता देखिएको बताए ।