
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलमा राई-लिम्बू समुदायबाट सांसद बनाउन नसकेको भन्दै क्षमा मागेका छन् ।
पार्टीले नवनिर्वाचित सांसदहरूलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीले सामाजिक न्यायका लागि पैरवी गर्ने प्रतिबद्धता जनाए ।
निर्वाचित बनेर सदनमा पुग्दैमा ज्ञानको भण्डार नबढ्ने भन्दै उनले जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट दिएका छन् त्यसको जिम्मेवारीको महसुस हुनुपर्ने धारणा राखे । ‘भोट माग्दा मतदाताले बाबु यो देश बचाउ भनेका छन् । यो सामान्य विषय होइन,’ उनले भने, ‘यो जिम्मेवारीको महसुस गर्नुहोला ।’
उनले रास्वपाभित्र सिङ्गो देशको अनुहार झल्कने पनि दाबी गरे । ‘व्यापारी, युवा, महिला, सामाजिक अभियन्ता, कलाकार, रोल मोडल सबै हुनुहुन्छ । सबैलाई म स्वागत गर्न चाहन्छु,’ उनले भने ।
सभापति लामिछानेले चुनावमा सबैले खटेर अत्यन्त दुख मेहनत र परिश्रम गरेको भन्दै धन्यवाद दिए । अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आएको भन्दै उनले चुनावका बेला जस्तै मेहनत गरेर पढाइ, अध्ययन र रिसर्चको काम गरेमात्र परिणाम दिन सकिने स्पष्ट पारे । ‘संसारको कुनै पनि देशले बिरलै पाउने अवसर तपाईं हामीले पाएका छौं । यो देशको भविष्य कस्तो लेख्ने तपाईंको हातमा छ‚’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जितलाई केवल उत्सव वा रमाइलोभन्दा पनि जिम्मेवारीको रूपमा लिएर काम गर्ने बेला आएको बताए ।
‘यो सामान्य परिस्थितिले आएको होइन, स-साना भाइबहिनीले रगत बगाएर आएको परिवर्तन हो । अर्को चुनावमा भोट माग्न जानु नपरोस् हाम्रो कामले बोलोस्,’ उनले भने ।
रास्वपा जत्तिको सक्षम पार्टी र यसका सांसदहरू मिलेर काम गर्दा पनि देश बनाउन नसके कसले बनाउन सक्छ भन्दै उनले प्रश्न गरे ।