इरानका प्रभावशाली नेता अली लारिजानीको इजरायली आक्रमणमा मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
६७ वर्षीय लारिजानीलाई अमेरिका–इजरायलबीचको युद्धको क्रममा मंगलबार राति गरिएको हवाई आक्रमणमा मारिएको इजरायलका रक्षामन्त्री इजरायल काट्जले बताएका थिए ।
सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको युद्धको पहिलो दिन (फेब्रुअरी २८) मा मृत्यु भएपछि इरानभित्र शक्ति सन्तुलन फेरिएको थियो । त्यसपछि लारिजानी देशका सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक बनेका थिए । उनी खामेनीपछि इजरायलद्वारा मारिएका सबैभन्दा उच्च तहका अधिकारी हुन् ।
यही आक्रमणमा इरानको अर्धसैनिक ‘बसिज’ बलका प्रमुख ब्रिगेडियर जनरल घोलामरेजा सुलेमानी पनि मारिएको बताइएको छ ।
सत्ता र सुरक्षा संरचनाको केन्द्रमा लारिजानी
लारिजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव थिए । उनलाई पछिल्लोपटक तेहरानमा भएको ‘अल-कुद्स डे’ र्यालीमा सार्वजनिक रूपमा देखिएको थियो ।
दशकौंसम्म उनी इरानी सत्ताको शान्त, व्यवहारिक (प्राग्म्याटिक) अनुहारका रूपमा चिनिन्थे ।
जर्मन दार्शनिक इम्यानुएल कान्टमाथि पुस्तक लेख्ने बौद्धिक व्यक्तित्व र पश्चिमसँग आणविक सम्झौता वार्तामा संलग्न नेता दुवै रूपमा उनको छवि थियो ।
तर, खामेनी र रिभोलुसनरी गार्डका कमाण्डर मोहम्मद पाकपुरको हत्यापछि उनको भाषाशैली कडा बनेको थियो । उनले अमेरिका र इजरायलविरुद्ध कडा प्रतिक्रिया दिँदै बदला लिने चेतावनी दिएका थिए ।
‘इरानका केनेडी’ भनिने प्रभावशाली परिवार
१९५८ जुन ३ मा इराकको नजफमा जन्मिएका लारिजानी इरानको अमोल सहरको प्रभावशाली धार्मिक परिवारका सदस्य थिए ।
सन् २००९ मा टाइम म्यागजिनले उनको परिवारलाई ‘इरानका केनेडी’ भनेर वर्णन गरेको थियो ।
उनका पिता मिर्जा हाशेम आमोली प्रतिष्ठित धार्मिक विद्वान थिए भने उनका दाजुभाइहरू पनि न्यायालयदेखि ‘असेम्बली अफ एक्सपर्ट्स’सम्म शक्तिशाली पदमा पुगेका थिए ।
उनले इस्लामिक गणतन्त्रका संस्थापक रुहोल्लाह खामेनीका निकट सहयोगी मोर्तेजा मोताहारीकी छोरी फरीदेहसँग विवाह गरेका थिए ।
गणितज्ञदेखि दार्शनिक र राजनीतिज्ञ
लारिजानीले शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीबाट गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेका थिए ।
त्यसपछि तेहरान विश्वविद्यालयबाट पश्चिमी दर्शनमा स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) पूरा गर्दै इम्यानुएल कान्टमाथि शोध गरेका थिए ।
राजनीतिक जीवनमा पनि उनले ठूलो प्रभाव छाडे । १९८० को दशकमा रिभोलुसनरी गार्डमा आबद्ध भए । १९९४–१९९७ मा संस्कृति मन्त्री बने । १९९४–२००४ मा राज्य प्रसारक (आईआरआईबी) प्रमुख बने भने २००८–२०२० मा लगातार तीन कार्यकाल संसद्को सभामुखको भूमिकामा रहे ।
उनले २०१५ को आणविक सम्झौता संसदबाट पारित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
राष्ट्रपति बन्न असफल प्रयास र पुनरागमन
लारिजानीले २००५, २०२१ र २०२४ मा राष्ट्रपति बन्न प्रयास गरे पनि सफल भएनन् । २०२१ र २०२४ मा त उनी ‘गार्डियन काउन्सिल’द्वारा अयोग्य ठहर गरिए ।
तर, २०२५ अगस्टमा राष्ट्रपति मसुद पेझेश्कियनले उनलाई पुनः सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव नियुक्त गरेपछि फेरि शक्तिको केन्द्रमा फर्किएका थिए ।
लारिजानीलाई व्यवहारिक नेता मानिए पनि युद्ध चर्किएपछि उनको रुख कडा बन्दै गएको थियो ।
अमेरिकासँग वार्ता गर्न तयार देखिएका उनी पछि वार्ता अस्वीकार गर्ने अवस्थामा पुगे
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य सम्झौता रद्द गरे । अमेरिकी सेना इरानमा आए ‘समात्ने र मार्ने’ चेतावनी दिए ।
तेहरानमा बमबारी भइरहेकै बेला उनी सडकमा प्रदर्शनमा सहभागी भएर जनतासँग उभिएको सन्देश दिएका थिए ।
कस्तो रहला उनको विरासत?
विश्लेषकहरूका अनुसार लारिजानी सुरक्षा संयन्त्र, सेना र राजनीतिक नेतृत्वबीचको सेतु थिए । खामेनीको मृत्युपछि बनेको संक्रमणकालीन संरचनामा पनि उनको महत्वपूर्ण भूमिका थियो ।
उनको मृत्युले इरानको रणनीतिक निर्णय प्रक्रियामा ठूलो प्रभाव पार्ने बताइएको छ ।
अल जजिराका संवाददाताका अनुसार, “लारिजानीजस्तो व्यक्तिको विकल्प खोज्नु सजिलो छैन ।”
उनलाई एकातिर युद्ध व्यवस्थापन गर्ने र अर्कोतिर सम्भावित कूटनीतिक समाधानको सम्भावना जोगाइराख्ने नेता रूपमा हेरिएको थियो ।
हेर्नुहोस्, भिडियो :