२६ असार २०८३, शुक्रबार

गगनको राजीनामाबारे सूर्य थापाको टिप्पणी- स्टन्ट, फण्डा, मिलोमतो र वाहियात

चैत ५, २०८२
काठमाडौं
गगनको राजीनामाबारे सूर्य थापाको टिप्पणी- स्टन्ट, फण्डा, मिलोमतो र वाहियात

नेकपा (एमाले)का नेता सूर्य थापाले कांग्रेस सभापति गगन थापाको राजीनाबारे कडा टिप्पणी गरेका छन् । चुनावी पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएपछि एमाले नेता थापाले फेसबुकमार्फत् प्रतिक्रिया दिँदै त्यसलाई ‘स्टन्ट’, ‘फण्डा’ र ‘मिलोमतो’को संज्ञा दिएका हुन् । 

थापाले राजीनामाबारे स्पष्टता नभएको भन्दै उनले प्रश्न उठाएका छन्। उनले राजीनामा दिएको भन्ने चर्चा चले पनि औपचारिक पुष्टि नभएको, सम्बन्धित व्यक्तिबाट समेत स्पष्ट भनाइ नआएको र राजीनामापत्रसमेत सार्वजनिक नभएको उल्लेख गरेका छन्।

७८ वर्ष लामो इतिहास बोकेको कांग्रेसजस्तो पार्टीमा यस्तो अभ्यास हुनु ‘बचपनापनको मजाक’ भएको उनले बताइएका छन्। उनले यदि वास्तवमै राजीनामा दिइएको हो भने पार्टीको केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति तथा सभापतिले औपचारिक रूपमा जिम्मेवारी लिँदै सार्वजनिक गर्नुपर्ने बताएका छन्। 

'राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत गायब छ । अझ यो स्टन्ट, फण्डा र  मिलोमतोजस्तो मात्रै देखिन्छ। ७८ बर्ष लामो इतिहास बोकेको सुधारिएको कांग्रेसमा अभ्यास गरिएको यो प्रकरण बचपनापनको मजाक प्रदर्शनबाहेक केही होइन,' उनले लेखेका छन्, 'यदि हो भने केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले जिम्मेवारी लिने, जवाफदेही हुने र आधिकारिकता पुष्टि एवं सार्वजनिक गर्ने हिम्मत त देखाउनु पर्ने नि! राजीनामा दिने/नदिने सम्बन्धित व्यक्तिले प्रदर्शन गरेको ४८ वर्ष लामो जीवन र जवानीको निचोड होला, हामीलाई केही मतलब छैन। तर मोही माग्ने ढुंग्रो लुकाउने तरिका वाहियात भयो !'

यसअघि आजै बिहान कांग्रेस सभापति थापाले राजीनामा पत्र बुझाएको समाचारहरू सार्वजनिक भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्