
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले इरान र खाडी क्षेत्रमा बढ्दो तनावका बीच नागरिक पूर्वाधारहरूलाई निशाना बनाएर गरिने हमलाहरू तत्काल रोक्न आह्वान गरेका छन्।
इरान र कतारका ग्यास उत्पादन क्षेत्रहरूमा मिसाइल आक्रमणका खबरहरू सार्वजनिक भएपछि राष्ट्रपति म्याक्रोनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिरसँग यस गम्भीर विषयमा टेलिफोन वार्ता भएको जानकारी दिए। उनले ऊर्जा र पानी आपूर्ति जस्ता अत्यावश्यक सुविधाहरूमा भइरहेका आक्रमणहरू ढिला नगरी रोक्नु सबैको साझा हितमा रहेको बताए । सैन्य द्वन्द्वका बेला पनि नागरिक आबादी, उनीहरूको आधारभूत आवश्यकता र ऊर्जा आपूर्तिको सुरक्षालाई जोगाउनु अनिवार्य रहेको म्याक्रोनको तर्क छ।
यसअघि कतारले आफ्नो औद्योगिक सहर 'रास लफान' मा भएको मिसाइल आक्रमणलाई लिएर इरानमाथि गम्भीर आरोप लगाएको थियो। कतारले इरानलाई यस क्षेत्रको स्थिरताका लागि प्रत्यक्ष खतराको रूपमा चित्रण गर्दै उक्त हमलाले देशको सुरक्षामा चुनौती थपेको बताएको छ।
कतार पेट्रोलियमले ती आक्रमणहरूबाट आफ्नो उद्योगमा ठूलो क्षति पुगेको पुष्टि गरिसकेको छ। यही पृष्ठभूमिमा म्याक्रोनको यो पछिल्लो भनाइ सार्वजनिक भएको हो ।