२४ जेठ २०८३, आइतबार
घट्दै सास्ती

बुटवल-नारायणगढ यात्रा सरर, असारअघि नै मिल्नेछ दाउनेको जामबाट मुक्ति

चैत ५, २०८२
काठमाडौं

वर्षौंदेखि सास्ती खेपिरहेका यात्रुहरूले अब बुटवलदेखि नारायणगढसम्म आरामदायी यात्रा गर्न पाउने भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको दाउन्नेको जामबाट मुक्ति मिल्न लागेको हो । 

११४ किलोमिटरको नारायणगढ– बुटवल सडकको काम अन्तिम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय महत्त्वको यो सडक आयोजनालाई ४९ किलोमिटर बुटवलदेखि–दाउन्नेसम्म पश्चिम खण्ड र ४९ किलोमिटर दाउन्नेदेखि गैडाकोटसम्म पूर्वी खण्ड गरेर छुट्ट्याइएको छ । यी दुवै खण्डको काम आगामी असार मसान्तभित्रै सम्पन्न हुन लगेको आयोजनाले जनाएको छ । 

७ वर्षदेखि नारायणगढ–बुटवल सडकमा यात्रुहरूले सास्ती खेपिरहेका थिए । यात्रुहरूले असहज यात्राका साथै धूलो र हिलोको समस्या पनि भोग्नु परिरहेको थियो । यति  मात्रै होइन, घण्टौं जाममा बस्नुपर्ने र वर्षाको समयमा पहिरोले गर्दा घण्टौंसम्म गाडीहरू अलपत्र पर्ने गरेका थिए ।

२०७५ सालदेखि बिस्तार थालिएको नारायणगढ–बुटवल सडक खण्डको काम असार मसान्तभित्रै सम्पन्न हुने आयोजनाले जनाएको छ ।

यस सडक खण्डको सबैभन्दा ठूलो समस्या दाउन्ने पहाड हो, जुन करिब १४ किलोमिटर उकालो र ओरालो पहाड छ ।

पहिरोका कारण यहाँको काममा निकै समय लागिरहेको छ । दाउन्नेको सबैभन्दा बढी १० किलोमिटर पर्ने पश्चिम खण्डका सूचना अधिकारी ई. विकास खनालका अनुसार जेठ दोस्रो साताभित्रै यस खण्डको काम सम्पन्न गर्ने तयारी छ ।  दाउन्नेको आरसीसी ढलान गर्नुपर्ने ७ किलोमिटरमा ४.२ किलोमिटर सम्पन्न भइसकेको उनको भनाइ छ । बाँकीको ढलान जेठ दोस्रो साताभित्रै सम्पन्न गरिसक्ने उनको भनाइ छ । 

यता करिब ४ किलोमिटर दाउन्नेको पहाड पर्ने पूर्वी खण्डको काम असारभित्रै सम्पन्न हुने पूर्वी खण्डका सूचना अधिकारी ई. शिव खनालले बताए । 

सबैभन्दा ठूलो जोखिम रहेको दाउन्नेको पहाडमा वर्षाका कारण गाडी फसेर घण्टौंसम्म पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुने गरेको छ । 

नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोडमा गर्ने गरी ठेक्का लिएको थियो, जसमा गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । 

पटक-पटक म्याद थप र अन्य विविध कारणले यसको लागत करिब ५ प्रतिशतले बढ्न सक्ने जनाइएको छ । 

२०७५ चैतदेखि शुरू गरिएको सडक विस्तारको २०७९ साउनसम्म सक्नुपर्ने थियो । तर, पटक–पटक थपिएको म्याद आगामी २०८३ असार मसान्तसम्मका लागि छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्