पार्टी सभापति गगनकुमार थापाको राजीनामापछि नेपाली कांग्रेस अर्को संकटमा फसेको छ ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएपछि गगनले नैतिकताका आधारमा राजीनामा बुझाएका हुन् ।
उपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गरेर गगनले राजीनामा दिएपछि यतिबेला कांग्रेस वृत्त तरंगित बनेको छ ।
राजीनामा पत्रमा गगनले पार्टी पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा ऊर्जाका साथ अघि बढ्ने उल्लेख गरेका छन् ।
गगनको राजीनामाबारे विभिन्न कोणबाट यसको चर्चा भइरहेको छ ।
नैतिकता देखाएर राजीनामा दिनु ठीक भनेर सामाजिक सञ्जालमा लेख्नेको कमी छैन । त्यस्तो तर्क गर्नेहरूले गगनले कांग्रेसमा प्रणाली बसाउन खोजेको बताइरहेका छन् ।
त्यसको विपरीत गगनले राजीनामा दिनु गलत भयो भन्नेको संख्या पनि उत्तिकै छ ।
विशेष महाधिवेशन र निर्वाचन परिणामले पार्टी संकटमा परेका बेला गगनले राजीनामा दिनु गलत भएको बुझाइ सहमहामन्त्री योगेन्द्र चौधरीको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ । बैठकले राजनीनामा फिर्ता लिन सभापतिलाई अनुरोध गर्ने तयारी गरेको छ ।
एक नेताका अनुसार संकटमा पार्टी छाड्न नहुने भन्दै डेलिगेसन जाने‚ राजीनामा फिर्ता गर्न लगाउने वा केन्द्रीय समिति बैठकले अस्वीकृत गर्नेसम्मको विकल्पमा छलफल चलिरहेको छ ।
उपसभापति शर्माले त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव बैठकमा पेस हुने बताएका छन् ।
गगन २७ देखि ३० पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भएका थिए । उनकै हस्ताक्षर र कमान्डमा पार्टीले २१ फागुनको निर्वाचन लड्यो ।
१०६ नयाँ अनुहार उम्मेदवार बने । देशभर घण्टीको लहर चल्दा कांग्रेसबाट १८ जनाले मात्र चुनाव जिते । गगन स्वयं सर्लाही ४ बाट पराजित भए ।
उनको नेतृत्वमा कांग्रेस ३८ सीट मात्र जित्दै इतिहासमै कमजोर पार्टी बन्यो, जसको दोष गगनले लिनुपर्ने भनेर पूर्व संस्थापनले जिकिर गरिरहेको छ ।
तर, कांग्रेसका अहिलेका पदाधिकारी भने चुनावी परिणाम खराब आउनुमा गगन मुख्य कारण नभएको जिकिर गर्छन् ।
सहमहामन्त्री उदय शमशेर राणाले सभापतिले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताए । गएको चुनावमा खराब नतिजा आउनुमा गगन जिम्मेवार नरहेको उनको तर्क छ ।
हुन पनि विशेष महाधिवेशनपश्चात् कांग्रेसभित्र प्रस्ट दुई लाइन देखिन्छ ।
शेरबहादुर देउवा र उनको टीम आधिकारिकता माग्दै सर्वोच्च अदालत पुगेको अवस्था छ । यो समूहले निर्वाचनमा असहयोग गरेको भन्ने आरोप पनि छ ।
कांग्रेसभित्र निर्वाचनको समीक्षा समेत भएको छैन । तर, गगनका निकटस्थहरूले भने उनको राजीनामा मन पराएका छैनन् ।
कांग्रेस इतिहासकै सबैभन्दा कमजोर बनेका बेला नेतृत्वले बलियो भएर सामना गर्नुपर्ने उनीहरूको तर्क छ । विभिन्न तर्क-वितर्कबीच गगन र नेपाली कांग्रेससामु अहिले २ वटा विकल्प रहेको देखिन्छ ।
पहिलो हो, गगनको राजीनामा स्वीकृत गरेर तत्काल नियमित महाधिवेशनमा लाग्ने । यस्तो अवस्थामा गगन नियमित महाधिवेशनबाट अनुमोदित भएर आउने विकल्प बाँकी रहने छ ।
दोस्रो, गगनको राजीनामा अस्वीकृत गरेर उनकै नेतृत्वमा नियमित महाधिवेशनमा जाने । गगन स्वयंले नैतिकताको विषय उठाएकाले पहिलो विकल्प नै उनी र पार्टी दुवैका लागि हितकर हुने देखिन्छ ।
यस्तो अवस्थामा शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले कुन बाटो रोज्छ, त्यो भने हेर्नलायक हुनेछ ।