
विश्वभर लाखौं महिलाले प्रयोग गर्ने कपाल विस्तार (हेयर एक्सटेन्सन)मा स्तन क्यान्सर, हार्मोनल असन्तुलन र प्रजनन समस्यासँग सम्बन्धित खतरनाक रसायनहरू पाइने गरेको एक नयाँ अध्ययनले देखाएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन भएको दाबी गरिएको छ।
‘जर्नल अफ द अमेरिकन केमिकल सोसाइटी’मा प्रकाशित अनुसन्धानमा विग, ब्रेडिङ, बुनाइ र क्लिप–इन जस्ता विभिन्न प्रकारका कृत्रिम तथा मानव कपालबाट बनेका ४३ नमूनाको परीक्षण गरिएको थियो। परीक्षणमा ती नमूनाहरूमा करिब १७० प्रकारका रसायन फेला परेका छन्, जसमध्ये ४८ वटा अन्तर्राष्ट्रिय रूपमा खतरनाक सूचीमा सूचीकृत छन्।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. एलिसिया फ्र्याङ्कलिनका अनुसार कपाल विस्तार लामो समयसम्म छालासँग सम्पर्कमा रहने भएकाले यसको जोखिम झन् बढ्छ। 'यी सामग्रीहरू हप्तौँदेखि महिनौँसम्म टाउको, घाँटी र शरीरसँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, जसले दीर्घकालीन असर पार्न सक्छ,' उनले भनिन्।
अनुसन्धानले ३६ नमूनामा स्तन क्यान्सरसँग सम्बन्धित १७ रसायन फेला पारेको जनाएको छ। यस्तै, करिब १० प्रतिशत नमूनामा अर्गानोटिन यौगिकहरू पनि भेटिएका छन्, जुन सामान्यतया ज्वाला–प्रतिरोधी प्लास्टिक बनाउन प्रयोग गरिन्छ र उपभोक्ता उत्पादनमा विरलै पाइन्छ।
यी रसायनहरूमा फिनोल, थ्यालेट जस्ता तत्वहरू समावेश छन्, जसले हार्मोन प्रणालीमा अवरोध पुर्याउने र प्रजनन क्षमतामा असर गर्ने बताइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यस्ता रसायनहरूले शरीरमा स्तन क्यान्सर निम्त्याउने पदार्थसरह जैविक परिवर्तन गराउन सक्छन्।
चिन्ताजनक कुरा के छ भने ‘मानव कपाल’, ‘कुमारी कपाल’ वा ‘कच्चा कपाल’ भनेर बेचिने उत्पादनहरू पनि सुरक्षित नहुन सक्ने देखिएको छ। केही अवस्थामा यस्ता नमूनामा कृत्रिम कपालभन्दा बढी खतरनाक रसायनहरू फेला परेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार उत्पादन वा प्रशोधनको क्रममा कपाललाई चम्किलो, टिकाउ वा सजिलै व्यवस्थापन गर्न मिल्ने बनाउन विभिन्न रसायन प्रयोग गरिन्छ। ती रसायनहरू कम मात्रामा भए पनि विशेषगरी हार्मोनमा असर गर्ने खालका भए जोखिमपूर्ण हुन सक्छन्।
कपाल विस्तारलाई उमाल्ने वा तताउने क्रममा विषाक्त ग्यास निस्कन सक्ने र ती सासमार्फत शरीरमा प्रवेश गर्न सक्ने चेतावनी पनि दिइएको छ। साथै छालाको सम्पर्कबाट पनि यस्ता रसायन शरीरमा जान सक्छन्, जसले प्रयोगकर्ता मात्र नभई कपाल स्टाइलिस्टलाई पनि असर पार्न सक्छ।
कपाल विस्तार प्रयोगपछि चिलाउने, रातोपन, दाग, सुन्निने र केही अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुनासो पनि आएका छन्। अध्ययनले यस्तो उत्पादन पूर्ण रूपमा सुरक्षित रूपमा प्रयोग गर्ने कुनै प्रमाणित तरिका नभएको उल्लेख गरेको छ।
४३ नमूनामध्ये केवल दुई नमूनामा मात्रै खतरनाक रसायन नपाइएको थियो। ती दुवै ‘नन–टक्सिक’ वा ‘टक्सिन–फ्री’ लेबल भएका भए पनि यस्तो दाबीलाई नियमन गर्ने कुनै निकाय नभएकाले उपभोक्तालाई भ्रममा पार्ने जोखिम रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
विश्वव्यापी रूपमा कपाल विस्तारको बजार तीव्र रूपमा बढिरहेको छ र सन् २०२८ सम्ममा यसको आकार १४ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ। तर यति ठूलो उद्योग भए पनि यसको नियमन र सुरक्षा परीक्षण कमजोर रहेको अध्ययनले देखाएको छ।
विशेषज्ञहरूले कपाल विस्तारलाई प्रायः कस्मेटिक उत्पादनको श्रेणीमा नराखिने भएकाले नियमित सुरक्षा परीक्षणबाट बाहिर रहने बताएका छन्। यसअघि भएका अध्ययनहरूले कपाल रङ र स्ट्रेटनरलाई पनि स्तन क्यान्सरको जोखिमसँग जोडिसकेका छन्। तर कपाल विस्तारमा भने नियमनको कमीले उपभोक्ता अझ जोखिममा पर्ने देखिएको छ ।