
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन् । इरानको पछिल्लो अवस्थाबारे टिप्पणी गर्दै ट्रम्पले अब इरानसँग वार्ता गर्नका लागि त्यहाँ कुनै नेतृत्व नै बाँकी नरहेको बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले इरानको नौसेना, वायुसेना, एन्टि-एयरक्राफ्ट प्रणाली, राडर र प्रमुख नेताहरू सबै समाप्त भएको शुक्रबार बताए । उनले भने, 'अहिले इरानमा नेतृत्व सम्हाल्न चाहने कोही पनि बाँकी छैन। हामी उनीहरूसँग कुरा गर्न चाहन्छौँ, तर वार्ताका लागि त्यहाँ कोही व्यक्ति नै छैन।'
उनका अनुसार इरानले लामो समयदेखि मध्यपूर्वमा आफ्नो वर्चस्व जमाउने र कब्जा गर्ने प्रयास गरिरहेको थियो। यदि इरानसँग परमाणु हतियार भएको भए उनीहरूले त्यसको प्रयोग गरिसक्ने दाबी समेत ट्रम्पले गरे ।
'अमेरिकाले इरानलाई रोक्नुपर्ने थियो र यो काम धेरै पहिले नै गरिनुपर्ने थियो,' ट्रम्पले भने। इरानको सैन्य संरचना र नेतृत्वलाई लक्षित गरी गरिएको कारबाहीले गर्दा अहिले त्यहाँ शून्यता छाएको र अमेरिकाले इरानको परमाणु महत्वाकांक्षालाई सफलतापूर्वक रोकेको ट्रम्पको जिकिर छ।