२५ जेठ २०८३, सोमबार
समालोचना

वैदिक यज्ञ र उपकरणको अनुसन्धान

चैत ७, २०८२
काठमाडौं
वैदिक यज्ञ र उपकरणको अनुसन्धान

‘कमलजी ! काठमाडौँतिर आउँदा पस्नुहोला है ।’ गोविन्द दाइ (प्रबन्ध निर्देशक, रत्न पुस्तकभण्डार)को फोन । गोविन्द दाइ चिरपरिचित, साह्रै असल मानिस । सबैको सहयोगी, उदारमना व्यक्तित्व । देशबाहिर हुँदा हामी हप्ताको एकपटक घण्टौँ कुरा गर्थ्यौँ म्यासेञ्जरमा । देशविदेशका कुरा हुन्थे, नेपाली साहित्य, संस्कृति तथा साहित्यिक व्यक्तित्व र कृतित्वबारे चर्चा हुन्थे । स्वदेशमा हुँदा झन् कुरै भएन । प्रत्येक दिन बिहान शुभबिहानी र शुभदिनका शब्दोपहार आदानप्रदाबाट मात्र दिन शुरू हुने गरेका छन् । उहाँले नै भनेपछि नजाने कुरै भएन । होला, पक्कै केही कुरा भनेर गतहप्ता उहाँको कार्यालय छिरेको थिएँ ।

कार्यकक्षमै हुनुहुँदो रहेछ । देख्नेवित्तिकै एउटा पुस्तक दिँदै भन्नुभयो– ‘लिनुस् एउटा कोशेली शायद तपाईँलाई काम लाग्न सक्छ ।’ हेरेँ रत्न पुस्तकभण्डारबाटै प्रकाशित मित्र आमोदजी (आमोदबर्धन कौण्डिन्न्यायन)द्वारा लिखित वैदिक यज्ञिय उपकरण र वृक्षहरूसम्बन्धित अनुसन्धानात्मक ग्रन्थ रहेछ । आमोदजी पनि पुराना मित्र हुन् । अनि हुन् नेपालका प्रतिष्ठित विद्वान् । लाग्छ– पाचासको दशकदेखि नै भेटघाट तथा वैचारिक विमर्श हुने गरेको हो हाम्रो । साठीको दशकतिर हो क्यार आमोदीको सुगृहीतनामा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिकधर्म मूलरूपमा’ नामक ग्रन्थको सानो समीक्षा लेखेको थिएँ गोरखापत्रमा । त्यसयता उहाँले समेत यदाकदा सम्झना गर्ने गर्नुहुन्थ्यो ।

आमोदजी वाल्मीकि क्याम्पससँग आबद्ध थिए । हुन सक्छ अहिले पनि छन् कि ? उनी पनि साह्रै असल मानिस हुन्, सज्जनता त्यत्तिकै । नेपालका जानेमाने वैदिक विद्वान् हुन्, वेद पढेका छन्, वेदान्त खारेका छन् तर आलोचकहरूप्रति प्रस्तुत हुने शैली भने अलि बढी नै रुखो त नभनौँ खरो भने पाएको छु । उनको आफ्नै शैली छ स्वाभाव छ । व्यक्ति अलग भएपछि विचार र स्वभाव अगल हुनु स्वभाविकै हो । शायद ‘मुण्डेमुण्डे मतिभिन्ना’ भनिएको यही होला । आमोदजी निसन्देह माथिल्लास्तरका विद्वान् हुन् तर सर्वज्ञाता भने पक्कै होइनन् । मानिस कोही पनि अच्युत हुन सक्दैन । अच्युत त एउटै हुन्छ, जो नारायण हुन्छ । तथापि उनी ठूला विद्वान् मित्र भने पक्कै हुन् र सोहीअनुसार श्रद्धा र सम्मान गर्दै आएको छु ।

उनैले लेखको पुस्तक भेटेपछि प्राप्त हुनासाथ सरसर्ती एकसरो आद्योपान्त पढेँ । पुस्तक साँच्चै उच्चस्तरको रहेछ, जहाँ वेद तथा वेदान्तदेखि दर्शनका समेत चर्चा भएका छन् । त्यसमा पनि वैदिक यज्ञ तथा यज्ञमा प्रयोग हुने उपकरण र वृक्षहरूबारे निकै गहिरो अनुसन्धान भएको पाइन्छ । वैदिक यज्ञका पद–पदार्थ तथा तिनमा प्रयोग हुने पात्रहरूको व्युत्पत्तिजन्य स्वरूप र विशेषताबारे सचित्र प्रस्तुत हुनु पुस्तकको एउटा विशेषता हो भने यज्ञीय वनसस्पति तथा वृक्षहरूबारे पनि त्यत्तिकै गहिरो अध्ययन भएको पाइनुलाई अर्को विशेषता हो ।

अन्त्यमा आएको परिशिष्ट खण्ड पुस्तकको थप अलङ्कार हुन् । यिनै विविधक विशेषताले गर्दा पुस्तक वैदिक कर्मकाण्ड अर्थात् यज्ञकर्मबारे चासो राख्ने सबैलाई उपयोगी हुने देखिएको छ । त्यसमा पनि यज्ञकर्ममा लागेकाहरूप्रति त झनै बढी काम लाग्ने हुन पुगेको देखिएको छ ।

पुस्तकमा यज्ञको प्रसङ् आएको छ, यज्ञवेदीको प्रशङ्ग आएको छ, यज्ञिय साधनहरूको व्याख्या भएको छ, ती साधन निर्माण गरिने वृक्ष तथा वनस्पतिको विश्लेषण भएको छ । अश्वमेध यज्ञको कुरा पनि यसैमा छ, वृषोत्सर्गयज्ञको कुरा पनि यसैमा छ । राजसूयज्ञको कुरा पनि यसैमा छ, पितृमेध, नरमेध तथा सर्वमेधको कुरा पनि यसैमा छ । यसबाहेक निरुढपशुबन्धयज्ञदेखि दैनिक जीवनमा सम्पन्न गर्नुपर्ने पञ्चमहायज्ञ आदि विभिन्न यज्ञ र अनुष्ठानका प्रशङ्गहरूसमेत अटाएको छ । प्रसङ्गहरू सबै उच्चकोटीका छन्, शास्त्रीय छन्, सार्वकालिक छन् ।

विभिन्न स्रोत उल्लेख गर्दै लेखकले पुस्तकमा वैदिक यज्ञका पशु कस्तो हुनुपर्छ, उसलाई कसरी संस्कार गर्नुपर्दछ, वध गर्ने यूप (मौलो) कसरी तयार पार्नुपर्दछ, पशुवधमा केकस्ता तरिका अप्नाउनुपर्दछ र त्यस्ता पशुहरूले कसरी स्वर्ग प्राप्त गर्न सक्दछन् र तिनका मुटु, जिभ्रो आदि अङ्ग कसरी निकालेर कसरी पकाउनुपर्दछ, कसरी हवन गर्नुपर्दछ र कसरी पुरोडास प्राशन गर्नुपर्दछ आदि पक्षमा निर्ममतापूर्वक अनुसन्धान भएका छन् । (पृष्ठ ७०–७१) तर, यसरी गरिने पशुबध यज्ञका विषयमा भने लेखकसँग पंक्तिकारको शुरूदेखि नै विमति रहँदै आएको छ ।

उनले वैदिक ग्रन्थको स्रोतसमेत उल्लेख गरेकाले त्यसलाई अशास्त्रीय भन्न त सकिन्न तर यस्ता प्रसङ्गहरू प्रतीकात्मकरूपमा आएका पनि हुन सक्छन् वा तिनका लक्षणार्थ अर्कैै पनि हुन सक्छ । त्यसैलै यस्ता कुरा गर्दा त्यतातिर पनि चिन्तन हुनु पर्दछ कि जस्तो लाग्द छ ।

अश्वमेध यज्ञकै कुरा गर्ने हो भने पनि लेखकले त्यसलाई अश्वमेधकै अर्थमा लिएका छन् । (पृष्ठ ८१) होला यो त्यस्तै यज्ञ नै होला तर शतपथ ब्राह्मण आदि वैदिक ग्रन्थमा यसलाई लक्षणार्थमा पनि लिइएको पाइन्छ, जहाँ घोडालाई मार्ने अर्थमा नभई संस्कार गरेर छाड्ने अर्थमा पनि लिइएको लिइएको देखिन्छ, (विवेक आर्य, वेदौँ को जानेँ, पृष्ठ ११–१२) जुन आमोदजीजस्ता मूर्धन्य व्यक्तित्वलाई थाहा नहुने कुरो होइन । त्यसैले यहाँ पनि यस्तै लक्षणार्थमा लिन खोजिएको पो हो कि ? भन्नेतर्फसमेत चिन्तन हुनु मनासिव होला जस्तो लाग्छ । किनभने वेद भनेका पूरा वसुधालाई परिवार मान्ने आदर्श पद्धति हुन् । यस्ता ग्रन्थले सोझै कसरी यज्ञको नाममा निर्दोष पशुवध गरी तिनका मुटु, कलेजो तथा जिभ्रोजस्ता अङ्ग अग्निमा हवन गरेर पुरोडास भक्षणको कुरा गरे होलान् ।   

पुस्तकको विशेषताबारे ग्रन्थपरिचयमा लेखक आफैँ बोलेका छन् । शायद त्यतिले मात्र नपुगेर होला भूमिकाखण्डमा लामै व्याख्यान दिएका छन् । भूमिकाको उद्देश्य नै पुस्तकको विशेषताबारे जानकारी दिनु हो । त्यसमाथि लेखक आफैँले लेखेको भूमिका प्राप्त भएपछि पाठकलाई पुस्तक बुझ्न खासै गाह्रो पर्छ होलाजस्तो लाग्दैन । किनभने कुल ३२० पृष्ठको पुस्तकमा ७४ पृष्ठ त पुस्तक परिचय र भूमिकालाई नै दिइएको छ । उनी आफैँले भनेअनुसार पुस्तक नेपाल संस्कृत विश्वविद्यालय अनुदानआयोगको अनुसन्धान प्रतिवेदनमा आधारित रहेछ, जसका लागि आयोगले उनकै नेतृत्वमा एउटा टोली गठन गरेको रहेछ तर पछि सबैको आनुकुल्य नमिलेकाले आफूले गरेको अनुसन्धानका विषयलाई प्रस्तुत ग्रन्थमा समेटेको देखिन्छ । त्यसैले सबै अनुसन्धाताहरूले गरेका अनुसन्धानलाई एकै स्थानमा समेटेर पुस्तक प्रकाशित गर्न पाइएको भए अझ राम्रो हुन्थ्योजस्तो लाग्छ । तथापि अहिलेलाई यति नै भन्न सकिन्छ, उनको एकाकी प्रयासबाट जेजति भएका छन् त्यही नै ठूलो कुरा हो ।

अन्त्यमा यति भनौँ हाललाई जे भएको छ राम्रै भएको छ । लेखकको कलम यसैगरी चरिरहोस् र पाठकहरूले यस्ता शास्त्रीय ग्रन्थहरू थप पढ्ने अवसर पाइरहून् । यिनै कामनासहित कलम बन्द गर्न चाहन्छु ।

salt training

कमेन्ट गर्नुहोस्