
कन्नड फिल्म 'केडी: द डेविल' को चर्चित गीत 'सरके चुनर तेरी' विवादमा परेपछि भारत सरकारले यसलाई सबै डिजिटल प्लेटफर्मबाट हटाउँदै प्रतिबन्ध लगाएको छ।
अभिनेत्री नोरा फतेही र अभिनेता संजय दत्त अभिनित यस गीतमा प्रयोग गरिएका 'अश्लील' शब्दहरूका कारण सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।
यो विवाद बढेसँगै भारतको राष्ट्रिय मानव अधिकार आयोगले केन्द्र सरकारलाई कानुनी नोटिस पठाएको छ भने राष्ट्रिय महिला आयोगले फिल्मका कलाकार र निर्मातालाई उपस्थित हुन निर्देशन दिएको छ।
अलीगढको एक मुस्लिम संगठनले त अभिनेत्री नोरा फतेही विरुद्ध 'फतवा' समेत जारी गरेको छ।
विवादपछि अभिनेत्री नोरा फतेहीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै भनेकी छन्, "मैले यो गीत कन्नड भाषामा सुट गरेको थिएँ, मलाई यसको शब्दको अर्थ थाहा थिएन। जब मैले हिन्दी अनुवाद सुनें, म आफैं झस्किएँ। त्यसैले मैले यो गीतको कतै पनि प्रचार गरिनँ।" गायिका मांगलीले पनि माफी माग्दै गीतको नयाँ संस्करण ल्याउने बताएकी छन्।
भारतको सेन्सर बोर्डले यो गीत रिलिज हुनुअघि स्वीकृतिका लागि आफूहरूकहाँ नपठाइएको बताएको छ। इन्टरनेटमा सिधै सार्वजनिक गरिने सामग्रीमा बोर्डको सिधा नियन्त्रण नहुने हुनाले यस्तो समस्या आएको बोर्डको भनाइ छ।
बलिउडमा 'आइटम नम्बर' को इतिहास पुरानो भए पनि पछिल्लो समयका गीतहरूमा कलाभन्दा बढी अश्लीलता र भद्दा शब्द प्रयोग हुन थालेको भन्दै फिल्म आलोचकहरूले चिन्ता व्यक्त गरेका छन्।
दिल्ली विश्वविद्यालयका कतिपय विद्यार्थीहरूले यस्ता गीतमाथि प्रतिबन्ध लगाउनु सही भएको बताएका छन् भने केहीले भने सिर्जनामा प्रतिबन्ध लगाउनु गलत भएको तर्क गरेका छन्।
पछिल्लो समय गायक बादशाहको 'तातीरी' गीतमाथि पनि यस्तै किसिमको प्रतिबन्ध लगाइएको थियो।