
जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेशमन्त्री अब्बास अराघचीले बताएका छन् ।
जापान मध्यपूर्वबाट कच्चा तेल आयातमा निर्भर छ, जसमध्ये अधिकांश खाडीमा अवस्थित स्ट्रेट अफ हर्मुज पार गरेर आपूर्ति हुन्छ ।
अमेरिका–इजरायल आक्रमणपछि इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको बताइए पनि अराघचीले उक्त दाबी अस्वीकार गरेका छन् । उनका अनुसार यो मार्ग इरानमाथि आक्रमण गर्ने देशका जहाजका लागि मात्र अवरुद्ध गरिएको हो ।
क्योदो न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा उनले भने, “हामीले यो स्ट्रेट बन्द गरेका छैनौँ। हाम्रो दृष्टिकोणबाट स्ट्रेट खुला छ।”
उनले थपे, “यो केवल हाम्रा शत्रुहरूको जहाजका लागि बन्द छ। अन्य देशका जहाजहरू स्ट्रेट हुँदै जान सक्छन्।”
अराघचीले जापानलाई सुरक्षित मार्ग सुनिश्चित गर्न इरान तयार रहेको बताए । “उनीहरूले हामीलाई सम्पर्क गर्न आवश्यक छ ताकि ट्रान्जिट कसरी हुने भन्नेबारे छलफल गर्न सकियोस्,” उनले भने ।
विश्वको चौथो ठूलो अर्थतन्त्र जापान तेलको पाँचौँ ठूलो आयातकर्ता हो, जसको करिब ९५ प्रतिशत तेल मध्यपूर्वबाट र ७० प्रतिशत स्ट्रेट अफ हर्मुज हुँदै आपूर्ति हुन्छ ।
टोकियोले हालै आफ्नो रणनीतिक तेल भण्डार प्रयोग गर्न थालेको जनाएको छ, जुन विश्वकै सबैभन्दा ठूलो भण्डारमध्ये एक मानिन्छ । जापानसँग सामान्य अवस्थामा २५४ दिनसम्म पुग्ने तेल सञ्चिति रहेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले मार्च ११ मा मध्यपूर्वको युद्धका कारण बढेको मूल्य नियन्त्रण गर्न तेल भण्डार प्रयोग गर्ने निर्णय गरेका थिए, जुन अहिलेसम्मकै ठूलो समन्वित प्रतिक्रिया मानिएको छ ।