
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा लाखौं रुपैयाँ ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौं महानगरपालिका–१६ की ४३ वर्षीया उमा गुरुङ, कास्कीको पोखरा महानगरपालिका–३३ का ३३ वर्षीय आशिष महत र रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ की ३५ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पौडेलले क्रोएसिया पठाउने भन्दै ३ लाख ३० हजार, भुजेलले माल्दिभ्स पठाउने भन्दै २ लाख ९९ हजार, गुरुङ र महतले बेलायत पठाउने भन्दै जनही २ लाख तथा श्रेष्ठले पोर्चुगल पठाउने भन्दै तीन लाख ६८ हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।