
इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा विस्थापन शिविरमा भोकमरीका कारण एक हजार ३०० भन्दा बढीको मृत्यु भएको एक स्थानीय अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएको छ।
अफ्रिकी सङ्घको अनुमानअनुसार सन् २०२० देखि २०२२ सम्म सङ्घीय सरकार र टिग्रे क्षेत्रका सेनाबीच भएको गृहयुद्धमा कम्तीमा छ लाख मानिसको मृत्यु भएको थियो।
युद्धका कारण करिब एक लाख मानिस शिविरमा विस्थापित भएका छन्।
टिग्रेको सामाजिक मामिला कार्यालयका निर्देशक गेब्रेसेलासी तारेकेले एएफपीसँग भने, “विगत तीन वर्षमा टिग्रे वरपरका शिविरमा आन्तरिक रूपमा विस्थापित धेरै व्यक्तिको भोकमरी र औषधिको अभावका कारण मृत्यु भएको छ।” उनका अनुसार मृतक संख्या एक हजार ३०९ पुगेको छ।
उनले भने, “स्थिति झन् खराब हुँदै गएको छ। सङ्घीय सरकारबाट पर्याप्त सहयोग मिलिरहेको छैन र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सहयोग घटाउँदै लगेका छन्।”
राजनीतिक तनाव बढेपछि अदिस अबाबाले केही महिनाअघि टिग्रेलाई दिँदै आएको आर्थिक सहयोग बन्द गरेको थियो।
“धेरै मानिस जोखिममा छन्,” उनले भने, “सबैभन्दा बढी प्रभावित एक शिविरमा मात्र एक लाख ५० हजार मानिस रहेका छन्।”
गत नोभेम्बर र जनवरीमा इथियोपियाली सेना र टिग्रे सेनाबीच पुनः भिडन्त भएको थियो।
सङ्घीय अधिकारीहरूले टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट ले इरिट्रियासँग सम्बन्ध विस्तार गरिरहेको आरोप लगाएका छन्।
इरिट्रिया ले भने भूपरिवेष्ठित इथियोपियाले आफ्नो बन्दरगाह सहर अस्साब कब्जा गर्ने योजना बनाएको आरोप लगाएको छ। सीमामा हप्तौँदेखि सैनिकहरू जम्मा भएका छन्।
गत महिना संयुक्त राष्ट्रसंघ का मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले दुवै देशलाई थप ढिलाइ नगरी तत्काल तनाव कम गर्न आग्रह गरेका थिए।