२४ जेठ २०८३, आइतबार

चुनावको सन्देश– रास्वपा, कांग्रेस, एमाले र नेकपाले अब के बुझ्ने ?

चैत १०, २०८२
काठमाडौं
चुनावको सन्देश– रास्वपा, कांग्रेस, एमाले र नेकपाले अब के बुझ्ने ?

भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी भन्नुहुन्थ्यो- 'राजनीतिमा एउटै गल्ती हुन्छ, त्यो हो चुनावमा पराजित हुनु ।' सैद्धान्तिक कुरामा जति नै बहस गरे पनि अन्त्यमा नेताको परीक्षण गर्ने त जनताले नै हो । मेरो बुझाइमा– विचारमा नेता न आउटडेटेड, न डाइनामिक, न असल, न खराब, न लोकप्रिय, न अलोकप्रिय हुन्छ  । जनमतले अनुमोदन गरे सान्दर्भिक, अन्यथा असान्दर्भिक ठहरिन्छ  ।

अब चुनावको सन्देशका विषयमा प्रवेश गरौं । यो चुनाव अब चुनाव मात्र नभई यसले दीर्घकालीन सन्देश दिएको छ । नेपाली जनतामा वर्षौंदेखिको आवेगको प्रतिनिधि बनेको छ । अझ सशक्त रूपमा जेनजेड आन्दोलनको भावना बोकेको छ । आशंका नै आशंकाबीच कार्की सरकारले चुनाव सम्पन्न गरायो, जसले बडेबडे नेताको गोठमा बाँधेको बाछाको जस्तो गर्जनलाई बेतुके साबित गरिदिएको छ । बाँधेको बाछो कराउँछ मात्र, निर्णायक केही गर्न नसके जस्तो कसैमा चुनाव रोक्ने सामर्थ्य रहेन । अनि बडाबडा ज्योतिषी र विद्वान् विश्लेषकहरूको महाभविष्यवाणी निरर्थक साबित भएको छ । जे होस्, चुनावले नै संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याएको छ । यसका लागि कार्की सरकारलाई मुरीमरी धन्यवाद ।

बौद्ध दर्शनअन्तर्गत भनिन्छ– 'बलं चक्रमहि निश्चयं चक्रं प्रवर्तते' अर्थात् सत्ताको चक्र न्यायमा निर्भर रहन्छ । यो चुनाव पनि पूर्व सत्ताको अन्यायको फलमाथि उभिएको छ । वर्षौंदेखि सिलौटामा पिसिएका जनताको आवेगसँगसँगै जिम्मेवारिता पनि यो चुनावमा झल्किन्छ । यो चुनावले सन्देश दिएको छ कि जनता मतका कारिन्दा मात्र रहेनछन् । कसैले मतको ठेक्का लिँदैमा त्यसैमाथि स्वस्तिक छाप बर्साउँदा रहेनछन् । ठूला स्वरको हेपाई मन्द भएर सुनिरहनुको अर्थ 'मौनम् स्वीकृति लक्षणम्' होइन रहेछ । बरु मौन विद्रोहमार्फत भित्तामै पुर्‍याउन पछि पर्दा रहेनछन् ।

समाजमा ठालु भनाउँदाहरूको लपलपाइलाई मौन समर्थन गर्दा रहेनछन्, प्रश्न गर्दा रहेछन्, अनि आफैं निर्णायक बन्दा रहेछन् । वर्षौंदेखिका गढ र कोर एरियाबाट माथि उठ्ने रहेछन् । भूगोलको राजनीतिमा मात्र सीमित नभई राष्ट्रिय राजनीतिमा आफ्नो सशक्त भूमिका खोज्दा रहेछन् । यद्यपि यसमा सामाजिक सञ्जालको सदुपयोग साथ–साथै दुरुपयोग पनि भयो । तर, एउटा मानक जबरजस्त रूपमा स्थापित गर्न खोजिँदैछ कि जनता झुक्याइए ! एक-दुई ठाउँमा मात्र भएको भए कुतर्क अनुमोदन हुन्थ्यो, तर देशैभरि बरु जनताले झुक्याउनेलाई पो झुक्याइदिए कि भन्ने प्रश्न खडा हुन्छ । यो चुनावले देखायो– नेताका गणेश उम्मेदवार कसरी स्खलित हुने रहेछन्; नेताका चिल्ला वाणीमा जनता अलमलिन बिर्सेछन्; एकले अर्काको वर्चश्व स्वीकार गर्दा रहेनछन्; एकले अर्कालाई विश्वस्त पार्ने वातावरण रहेनछ । सञ्जालको चेतनाले यसरी सशक्त बनाएको रहेछ, बरु जनताले प्रतिप्रश्न पो गरे: 'तिमीलाई भोट किन दिने? तिमीले यो गरिदियौ, त्यो गरिदियौ कि फगत गफ मात्रै?' एकले अर्काको नेतृत्व स्वीकार गर्दा रहेनछन्, बरु आफ्नै अन्तरात्माको निर्णय पो गर्दा रहेछन् ।

बहुमत पाउने दल पूरै ठिक, त्यसका उम्मेदवार पूरै ठिक भन्ने यसको उद्देश्य होइन । उनीहरूको परीक्षण त समयले गरि नै हाल्छ । प्रश्न त मत परिवर्तनको पो हो, चाहे त्यो रिस थियो वा परिवर्तनको हुटहुटी, मत परिवर्तनचाहिँ भयो । मत परिवर्तनका लागि कसैको सिन्डिकेटले रोक्दो रहेनछ, त्यो त फगत मत हो, जसको लाभ दैविक हुन्छ भन्ने त रहेनछ । त्यो त मताधिकार पो रहेछ, जससँग कर्तव्य पनि जोडिएको रहेछ ।

मत परिवर्तनका लागि न पारिवारिक विरासत, न अमुक दलको छायाँ, न आफ्नै जाति, न धर्म, न भूगोल, त्यसका लागि जनताको अन्तरात्मा नै काफी रहेछ । त्यो मत सहीलाई दिए वा गलतलाई, त्यो त समयले बताउला, तर प्रमुख मुद्दा त मत परिवर्तन हुने रहेछ, जनताको मन अस्थायी हुने रहेछ । सधैँ एउटै ठेकेदारलाई मतको ठेक्का दिने रहेनछन् ।

यो चुनावले सन्देश दियो– 'अमुक दलका नेताका भाषण वा कार्यकर्ताको रोजाइमा तिलस्मी कहलिने नेता, त्यो त त्यो दलका कार्यकर्ता र हलीलाई मात्र पो रहेछ, जनतालाई त्यसो हुँदो रहेनछ । एउटा गतिलो सन्देश दिए- 'तिम्रो नेताको हली नबन, अन्यथा तिमीबाहेक अर्को जोत्न जाने छैन । प्रथमतः आफ्नै नेतृत्व विकास गर, आफ्नै पहिचान बनाऊ, नकि आफूमाथि कसैको चिनारी । अन्यथा तिम्रो चिनारीलाई कसैले चिन्ने छैन, त्यसैमा तिम्रो छायाँ अस्ताउने छ ।'

अब पुराना दलले के सन्देश लिने, त्यतातिर जाउँ । प्रथमतः नेपाली कांग्रेसले के सन्देश लिने ? एउटा प्रश्नचाहिँ विशेष महाधिवेशनको सन्देश जनतामा पुर्‍याउन नसक्नु हो र त्यो सन्देश कार्यकर्ताबाहेक आमजनताले के पाए भन्ने प्रश्नको जवाफ नपाउनु हो । अब फेरि त्यही दलभित्र एउटा पक्ष बडो जोडतोडले 'विशेष महाधिवेशनको औचित्य समाप्त' भन्दै झ्याली पिट्दै हिँडेको देखिन्छ– यिनको सद्बुद्धि आओस् । विशेष महाधिवेशनले नै कांग्रेसको यतिको उपस्थिति बनाएको हो, अन्यथा एमालेको उदाहरण लिन टाढा जानुपर्दैन । कांग्रेसभित्र यसको वा त्यसको राजीनामाको दोहोरी अन्त्य गरेर नियमित महाधिवेशनबाट व्यापक युवा जनशक्ति कांग्रेस संरचनाभित्र हावी हुन आवश्यक छ । टाउको परिवर्तन मात्र होइन, व्यापक संरचनागत सुधार आवश्यक छ । अनि अनुहारमा कालो दाग हुँदा ऐना पुछ्ने प्रवृत्तिको वहिष्कार गर्नुपर्नेछ । कांग्रेसभित्रको गुटगत राजनीति र दाइ-प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । सडक-सदन दुवैमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ । अप्राकृतिक सहकार्य सदाका लागि अन्त्य गर्नुपर्नेछ र अन्त्यमा बीपी कोइरालाको दिव्यवाणी 'जनताको कुरा सुन' व्यवहारतः पालना गर्नुपर्नेछ ।

अब एमालेले लिनुपर्ने सन्देशको चर्चा गरौं । हुन त एमालेमा सुझाव लिनेभन्दा सुझाव दिने धेरै छन्— पीएचडी गर्नेलाई फगत कागजको खोस्टो न हो भन्दिने पनि त्यहीँ छन् । तर, यसको संगठनात्मक दर्शनको मूल मर्म 'जनवादी केन्द्रीयता' अहिलेको अवस्थामा केन्द्रीयता त छ, तर जनवादी छैन । यसलाई जनवादी केन्द्रीयता नै व्यवहारतः पालना गर्नुपर्छ । कलंकित नेतृत्वलाई बहिष्कार गर्नुपर्छ । हुन त कोर टीमभित्रैबाट नेतृत्व परिवर्तनको मसिनो स्वर सुनिन्छ, तर त्यसलाई सशक्त कार्यान्वयन गर्नुपर्छ । हिजोको मानक 'कम्युनिस्ट जनताका सारथि हुन्' लाई पुनर्जीवित गर्नुपर्छ । अधम तानाशाहीपनको अन्त्य हुनुपर्छ, अनि मार्क्सवादी दर्शनको मूल मर्मअनुसार पार्टीलाई समयानुकूल गतिशील बनाउनुपर्छ ।

अर्को, कम्युनिस्ट आन्दोलनका २६ दलको एउटै घटक नेकपामा सुप्रिमोको परिभाषा नेतृत्व मात्र होइन, 'कार्यकर्ता सुप्रिमो हो' भन्ने मानक स्थापित गर्नुपर्नेछ । नेतृत्व परिवर्तन अपरिहार्य छ । 'सत्ताको चुम्बक हानिकारक छ' भन्ने सन्देश लिनुपर्छ ।  अनि आफ्नो विचारको धुरी मान्ने माओको भनाइ 'जनताको सेवा गर' लाई व्यवहारतः पालना गर्नुपर्छ । 'जङ्गलमा सिंह निस्केसी के हुन्छ ?' होइन, 'सिंह बुढो भएपछि के हुन्छ ?' त्यतातिर सोच्नुपर्ने देखिन्छ । मधेसवादी दलहरूले पनि 'भूगोल र क्षेत्रीयता केवल सत्तास्वार्थको पुल मात्र होइन, त्यो त जनताको पहिचान हो' भन्ने मानकलाई पुनः आत्मसात् गर्नुपर्नेछ । यस्तै अन्यलाई समेत बेजोडसँग सन्देश दिएको छ ।

र फेरि पनि पुराना दलका आस्थावान कार्यकर्ताको मत मात्र परिवर्तन भएको हो, विचार होइन । विचार यथावत् रहेको सन्देश चुनावले दिएको छ । ठूलो जनसमर्थन अझै पुराना दलसँग छ । भनिन्छ नि— सदनभन्दा सडक बलियो, सडकभन्दा राजनीतिक मुद्दामा जेलभित्र रहेको नेता सशक्त हुन्छ । यही मानक यी दलहरूले स्थापित गर्नुपर्नेछ । त्यसैले सडक-सदनबाट जनताको आवाज सुन्ने र जुरुक्क उठाउने काम अपरिहार्य छ । अन्यथा कार्यकर्ताले मत परिवर्तन गरे जसरी दल नै परिवर्तन गर्ने स्थिति धेरै टाढा छैन । आशा गरौं, त्यो दिन नआओस् ।

अन्त्यमा, बहुमत ल्याउने दललाई यो चुनावको सन्देश एउटा अङ्ग्रेजी भनाइबाट दिनु छ– 'Power attracts the worst and corrupts the best.' यो भनाइ लागू नहोस् । सत्ताको उन्माद जनमतले सहने छैन । दुईतिहाइ फगत सत्ता सञ्चालनका लागि हो, शासन गर्नका लागि होइन । एक चर्चित दार्शनिक थोरोको भनाइ छ– 'लोकतान्त्रिक सरकार त्यो हो, जसले सबैभन्दा कम शासन गर्छ' अर्थात् जनतामा सत्ताको डण्डा कम चलाउँछ । इतिहासमा दुईतिहाइ पाएका उदाहरण नेपालमा कम छैनन् अथवा शक्तिशाली सरकारका उदाहरण कम छैनन्, फगत तिनैको नयाँ भेरिएन्ट अथवा त्यस्तै नियति नहोस्, शुभकामना छ । अन्यथा यो चुनावले दिएको सन्देश— जनताको मन गतिशील छ । नदीले आफ्नो बेगमा टिक्न नसक्ने पत्थरलाई जसरी बगरमा पुर्‍याइदिन्छ, त्यसरी नै अर्को चुनावमा नयाँ भनाउँदालाई जनताले उछिट्याइदिनेछन्– चेतना भया ।

salt training

कमेन्ट गर्नुहोस्