
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मंगलबार पहिलो जित हात पारेको छ ।
आफ्नो दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई एक सय ७० रनको विशाल अन्तरले हरायो । जारी प्रतियोगितामा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठूलो अन्तरको जित हो ।
बागमती प्रदेश आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ७१ रनले पराजित भएको थियो । जारी प्रतियोगितामा गण्डकी प्रदेशले भने आफ्नो पहिलो खेल खेलेको हो ।
मूलपानी क्रिकेट मैदानमा मंगलबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९४ रन बनाएको थियो ।
जवाफमा गण्डकी प्रदेशले ३१.५ ओभरमै अलआउट हुनुअघि एक सय २४ रनमात्र बनाउन सक्यो । बागमती प्रदेशका लागि इशान पाण्डे र आशुतोष घिरैयाले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
इशानले ७१ रन बनाए । उनले केवल ६१ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । आशुतोषले पनि ५९ रन बनाए । उनले ८७ बलमा नौवटा चौका पनि प्रहार गरे ।
आशुतोषले ओपनिङ विकेटका लागि शुभ कंसाकारसँग ६४ रनको साझेदारी गरे । शुभले ४४ रनको योगदान गरे । उनले २८ बलमा चार छक्का र दुई चौका हिर्काए । उत्तम मगरले ३० रन जोडे ।
विवेक मगरले पनि टोलीको खातामा २७ रन थपे । कप्तान सन्दीप लामिछानेले पनि अविजित २६ रन बनाए । उनले केवल १७ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे ।
शिवम् तिवारीले पनि १८ रन जोडे । गण्डकी प्रदेशका बलर कमल परियारले दुई विकेट लिए । विपिन खत्री, अंकित न्यौपाने, सिबरिन श्रेष्ठ र सुवाष भण्डारीले पनि एक–एक विकेट हात पारे ।
गण्डकी प्रदेशका लागि अर्जुन कुमालले ७४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । ओपनर अर्जुनले ९० बलमा ११ चौका पनि प्रहार गरे ।
सुवाष भण्डारीले ४८ बलमा एक छक्का र एक चौकाको मद्दतले २९ रन बनाए । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमती प्रदेशका बलर रिजन ढकालले तीन विकेट लिए । सन्दीप लामिछाने र इशान पाण्डेले पनि दुई–दुई विकेट हात पारे । दयानन्द मण्डल र सुवाष खत्रीले पनि एक–एक विकेट लिए ।