
एनआईसी एसिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल)बीच बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिनकुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् ।
समझदारीसँगै बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरूले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरू प्राप्त गर्नेछन् ।
साथै, ग्राहकहरूको थप सेवा सुविधाका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटीएम सेवा सञ्चालन गर्ने समझदारी भएको बैंकका ब्रान्डिङ एन्ड मिडिया डिपार्टमेन्टका प्रमुख धिरेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।
ग्राहक महानुभावहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरताको प्रयास स्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डरलाई सेवा सुविधामा थप सहज र सुलभ हुने विश्वास बैंकको छ ।