२४ जेठ २०८३, आइतबार

डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा

चैत १०, २०८२
काठमाडौं
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा

नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज मंगलबारदेखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ (International VoLTE Roaming) सेवा प्रयोग गर्न सकिने भएको छ । 

यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता  भएको छ ।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिलेदेखि नै उपलब्ध छ । 

यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ ।

विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ ।

भोल्टी अर्थात भ्वाइस ओभर एलटीई (VoLTE - Voice Over LTE) नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिलेदेखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ ।

आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा HD वा VoLTE  लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । 

यदि छैन भने *444# डायल गरी 'Activate VoLTE' विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सक्रिय हुन्छ ।

यस सम्बन्धी थप जानकारी https://www.ntc.net.np/post/volte मार्फत लिन सकिने प्रवक्ता मानन्धरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्