
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तातोपानी गाउँपालिकाको वडा नम्बर १ स्थित श्री गणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छात्रवृत्ति बापतको रकम विगत ५ वर्षदेखि वितरण नगरेको र दिवा खाजा बापतको रकम हिनामिना गरेको अभियोगसहित आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले भट्टराईसहित विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महत र लेखा सहायक कृष्ण कामीलाई प्रतिवादी कायम गरेको छ । उनीहरू तीनै जनाविरुद्ध जनही १ लाख ४५ हजार ३५० रुपैयाँ बिगो कायम गरिएको छ ।
विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण नगरेको तथा एक आपसमा मिलेमतो गरी झुट्टा भरपाई बनाइ अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।