
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा सोमबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल राजस्थान रोयल्सको दोस्रो घरेलु मैदान गुवाहाटीको बरसापारा स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे शुरू हुनेछ ।
चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनी यो खेलमा उपस्थित हुने सम्भावना निकै कम छ । चेन्नईले जारी सिजनको आईपीएलको शुरूआती दुई साता धोनी मैदानबाट बाहिर रहने जनाएको छ । उनी मांसपेशीको समस्याबाट पीडित छन् ।
चेन्नई ५ र राजस्थान १ पटकको च्याम्पियन
चेन्नईले हालसम्म कीर्तिमानी रूपमा पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८, सन् २०२१ र सन् २०२३ मा उपाधि चुमेको थियो । अघिल्लो सिजन भने चेन्नईले निराशाजनक प्रदर्शन गरेको थियो । अघिल्लो सिजन चेन्नई तालिकामा सबैभन्दा तल १०औं स्थानमा रहेको थियो ।
अर्कोतिर, राजस्थान रोयल्सले हालसम्म एकपटक मात्र आईपीएलको उपाधि जितेको छ । राजस्थानले सन् २००८ मा पहिलो संस्करणको उपाधि जितेको थियो । त्यतिबेला राजस्थानले फाइनलमा चेन्नईलाई नै तीन विकेटले हराएको थियो ।
अघिल्लो सिजन राजस्थान रोयल्सको प्रदर्शन पनि राम्रो थिएन । सन् २०२५ को आईपीएलमा राजस्थान तालिकाको नवौं स्थानमा थियो ।
हेड टु हेडले देखाउँछ चर्को प्रतिस्पर्धा
राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सको हेड टु हेड निकै प्रतिस्पर्धात्मक देखिन्छ । यी दुई टोलीबीच आईपीएलमा हालसम्म कुल ३२ खेल खेलिएको छ । त्यसमध्ये १६ खेलमा राजस्थान र बाँकी १६ खेलमा चेन्नई विजयी भएका छन् ।
गुवाहाटी भने यी दुबै टोलीबीच हालसम्म केवल एक खेल खेलिएको छ । त्यो खेलमा अघिल्लो सिजनको आईपीएलमा खेलिएको थियो । उक्त खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ रनले पराजित गरेको थियो ।
दुवै टोलीमा चोटको समस्या
राजस्थान रोयल्सका अलराउन्डर साम करन चोटका कारण प्रतियोगिताबाटै बाहिरिइसकेका छन् । उनको स्थानमा राजस्थानले श्रीलंकाका टी–२० कप्तान दासुन शानकालाई टोलीमा समावेश गरेको छ । दासुन पनि अलराउन्डर खेलाडी हुन् ।
यसैगरी, चेन्नई सुपर किङ्सका प्रभावशाली तीव्र गतिका बलर नाथन एलिस पनि घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । चेन्नईले उनको स्थानमा अस्ट्रेलियाका बायाँहाते तीव्रगतिका बलर स्पेन्सर जोन्सनलाई टोलीमा समावेश गरेको छ ।
सामसन र जडेजा पुरानो टोलीविरुद्ध मैदानमा
सन्जु सामसन र रवीन्द्र जडेजा यो सिजनको आईपीएलमा आफ्नै पूर्वटोलीविरुद्ध मैदानमा ओर्लने छन् । सामसनले पछिल्लो एक दशकभन्दा लामो समयदेखि राजस्थानबाट खेल्दै आएका थिए । यो सिजन भने उनी चेन्नईमा आबद्ध भएका छन् ।
यसैगरी, जडेजाले पनि लामो समयदेखि चेन्नई सुपर किङ्सबाट खेल्दै आएका थिए । तर, यो सिजन उनी राजस्थान रोयल्सको जर्सी लगाएर मैदानमा ओर्लने छन् । यी दुई खेलाडीबीचको प्रतिस्पर्धा सोमबार हेर्नलायकको हुनेछ ।
चेन्नईको बलियो ब्याटिङ
यो सिजन चेन्नईको ब्याटिङ पक्ष निकै बलियो देखिएको छ । शिवम दुबे र आयुष म्हात्रे मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन् । युवा खेलाडी सन्जु सामसनले पनि ब्याटिङमा कमाल गर्न सक्ने सम्भावना देखिन्छ ।
बलिङमा पनि चेन्नई कमजोर छैन । टोलीमा नुर अहमद, अकिल होसैन, म्याट हेनरी, खलिल अहमदजस्ता प्रभावशाली बलर छन् । डेवाल्ड ब्रेविस भने चोटका कारण सोमबारको खेलमा मैदानमा ओर्लने सम्भावना कम छ ।
वैभव सूर्यवंशीमाथि राजस्थानको आश
अनुभवी खेलाडी रवीन्द्र जडेजाको आगमनले राजस्थान रोयल्सको आत्मविश्वास बढेको छ । ब्याटिङमा यशस्वी जैसवालबाट राजस्थानले निकै आश गरेको छ । युवा खेलाडी वैभव सूर्यवंशीबाट पनि राजस्थानले उत्कृष्ट प्रदर्शनको आश गरेको छ । उनी लयमा पनि देखिएका छन् ।
यसैगरी, शिमरन हेटमायर पनि लयमा छन् । बलिङतर्फ भने राजस्थान केही कमजोर देखिन्छ । जोफ्रा आर्चरले तीव्रगति तथा जडेजा र रवि बिश्नोईले स्पिनको जिम्मेवारी समाल्ने छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
राजस्थान र चेन्नईबीच खेल हुने बरसापारा क्रिकेट स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा ब्याट्सम्यानले ठुलो संख्यामा रन बनाउने सम्भावना छ । यो पिचमा खेलका प्रारम्भमा भने तीव्र गतिका बलरले केही साथ पाउने छन् ।
यो स्टेडियममा टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्ने सम्भावना बढी देखिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको ६ खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा पहिले ब्याटिङ गर्ने टोली र दुई खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।
यो स्टेडियममा हालसम्म बनेको सबैभन्दा ठूलो स्कार चार विकेट गुमाएर एक सय ९९ रन हो । सन् २०२३ को आईपीएलमा यो स्कोर राजस्थानले दिल्ली क्यापिटल्सविरुद्ध बनाएको थियो ।
बादलले ढाकेको आकाश
गुवाहाटीको आकाश सोमबार बादलले ढाकेको हुनेछ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, सोमबार सामान्य वर्षाको सम्भावना पनि छ । वर्षाको सम्भावना ५५ देखि ६० प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
सम्भावित टोली
राजस्थान रोयल्स : वैभव सूर्यवंशी, यशस्वी जैसवाल, रियान पराग (कप्तान), रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), शिमरन हेटमायर, डोनोभन फेरेरा, दसुन शानका, रवि बिश्नोई, जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डे ।
चेन्नई सुपर किङ्स : सन्जु सामसन (विकेटकिपर), ऋतुराज गायकवाड (कप्तान), आयुष म्हात्रे, म्याथ्यू शर्ट, प्रशान्त वीर, सरफराज खान वा कार्तिक शर्मा, शिवम दुबे, अकिल होसैन, नुर अहमद, म्याट हेनरी, अंशुल कम्बोज र खलिल अहमद ।