वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङ यतिबेला चर्चाको केन्द्रमा छन् । शपथ खाए लगत्तैदेखि उनले पक्राउको शृंखला नै चलाएका छन् ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा शनिबार बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे ।
नेपाली राजनीतिमा फौजदारी कसुरमा तत्कालीन प्रधानमन्त्री नै पक्राउ परेको यो पहिलो घटना हो ।
विगतमा बनेका रायमाझी आयोग, लाल आयोगजस्ता आयोगका प्रतिवेदन अहिले पनि गुमनाम छन् ।
तर, बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ खाएपछि बसेको पहिलो क्याबिनेट बैठकबाटै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भयो । जुन निर्णयकै कारण ओली र लेखक पक्राउ परे ।
यो निर्णय कार्यान्वयन गर्ने भूमिकाको ‘लीड रोल’ नै गृहमन्त्रीका हैसियतमा सुधन गुरुङमा थियो । शुक्रबार साँझ क्याबिनेट सकियो । गृहमन्त्री गुरुङ त्यतिमै अडिएनन् ।
उनी गृह मन्त्रालयबाट सिधै हानिए, प्रहरी हेडक्वार्टरतर्फ । हेडक्वार्टर पुगेपछि उनी निरीक्षणतर्फ लागेनन्, भटाभट आदेश गर्न थाले ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की लगायतलाई वरिपरि राखेर गृहमन्त्री गुरुङले ओली र लेखकलाई पक्राउ गर्न निर्देशन दिए ।
प्रहरीका लागि त्यो निर्देशन साँच्चिकै आश्चर्यजनक थियो । प्रहरी महानिरीक्षक कार्कीले गृहमन्त्री गुरुङसँग लिखित आदेश मागे । गुरुङले गृहसचिवलाई पत्र बनाउन निर्देशन दिए । गृहबाट पत्र आयो । हेडक्वार्टरले अपराध अनुसन्धान विभागलाई पत्र पठायो । विभागले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई कार्यार्थ पत्र पठायो । अनि ओली र लेखकलाई पक्राउ गर्न जरुरी पक्राउ पुर्जी जारी भयो ।
यहाँसम्म आइपुग्दा शनिबार बिहानको पाँच बजिसकेको थियो । शुरूमा त गृहमन्त्री गुरुङले ओलीलाई पक्राउ गर्न आफैँ जाने बताए । पछि सुरक्षा अधिकारीहरूले सम्झाएपछि उनी रोकिए । त्यतिबेलासम्म ओली निवास गुण्डुमा प्रहरी छ्यापछ्याप्ती परिचालित थिए ।
शनिबार बिहान करिब साढे ५ बजे लेखक पक्राउ परे । पौने ६ बजे ओली पक्राउ परे ।
जेनजी आन्दोलनका क्रममा गुरुङले भनेका थिए, यिनीहरू (नेताहरू) लाई थुती–थुती ल्याउँछु । त्यतिबेलासम्म गुरुङ चुनावमा उठ्ने मेलोमेसो थिएन ।
सुशीला कार्कीको सरकार बन्यो । चुनाव फागुन २१ मा सम्पन्न गर्ने निर्णय भयो । गुरुङले पनि गोरखा–१ बाट चुनाव लड्ने निधो गरे । रास्वपाबाट उनले टिकट पाए । चुनाव जिते ।
शुरूमा त गुरुङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने गाइँगुइँ थियो । तर, गुरुङले आफू ‘एक्सन ओरियन्टेड’ भएकाले काम गर्ने मन्त्रालय दिन प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेसँग आग्रह गरे ।
बालेन र रविको सहमतिमा गुरुङलाई गृहमन्त्री बनाउने निर्णय भयो । गुरुङकै अगुवाइमा ओली र लेखक त समातिए नै, त्यसपछि पनि उनको एक्सन बदलिएन ।
जिल्ला प्रहरी परिसर ललितपुरमा अकस्मात् पुगेका गुरुङले परिसर प्रमुख एसएसपी होबिन्द्र बोगटीलाई निर्देशन दिए, एमाले नेता कर्णबहादुर मल्ललाई पक्राउ गर्न ।
बलात्कार घटनामा जाहेरी परेर निस्फिक्री हिँडिरहेका मल्ललाई तुरुन्तै प्रहरीले पक्राउ गर्यो ।
गुरुङ त्यतिमा मात्रै रोकिएनन्, प्रधानमन्त्री बालेनसँग सल्लाह गरेरै अघि बढेका उनले आइतबार राति लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मा पक्राउ गराए ।
काठमाडौंको मेयर हुँदा बालेनले शर्मालाई कारबाही गर्न माग गरेका थिए । बालिकालाई घरेलु कामदार बनाएको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी पनि परेको थियो । तर, मुद्दा चलेको थिएन ।
बालेन सरकारले आफ्नो मुख्य लक्ष्य सुशासन, भ्रष्टाचार नियन्त्रण र जनतालाई सजिलै डेलिभरी दिने भएको बताएको छ ।
यी तीन लक्ष्यसँग सिधै ठोकिने मन्त्रालय भनेको गृह नै हो । गृहको नेतृत्वमा गुरुङ छन् । हक्की स्वभावका उनी अहिले बैठक मात्रै राखेर निर्देशनपछि निर्देशन दिने तयारीमा छैनन् । तुरुन्त एक्सनमा जाने र रिजल्ट दिने गृहमन्त्री गुरुङले बताएको मन्त्रालयका सहसचिवहरू बताउँछन् ।
प्रमाण हुँदाहुँदै पनि राजनीतिक शक्तिको आडमा उम्किएका केही राजनीतिक नेताहरू अझै पनि पक्राउ पर्न सक्ने आकलन गरिएको छ ।
हेर्नुहोस्, भिडियो: