२७ जेठ २०८३, बुधबार

नेपाली खेलाडीलाई प्रशिक्षण दिन काठमाडौं आउँदै भारतीय क्रिकेटर नरेन्द्र कुमार

चैत १६, २०८२
काठमाडौं
नेपाली खेलाडीलाई प्रशिक्षण दिन काठमाडौं आउँदै भारतीय क्रिकेटर नरेन्द्र कुमार

भारतको सबैभन्दा प्रतिष्ठित र पुरानो घरेलु प्रथम श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी खेलिसकेका क्रिकेटर नरेन्द्र कुमार नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण दिन नेपाल आउने भएका छन् ।

आईसीसीको लेभल वानका प्रशिक्षक रहेका उनी नेपालका क्रिकेटरहरूलाई प्रशिक्षण दिन नेपाल आउन लागेका हुन्।

उनी अहिले दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमीका हेडकोच छन् । उनलाई नेपालको काठमाडौं क्रिकेट एकेडेमीले नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण दिन नेपाल ल्याउन लागेको हो । उनले १५ दिन नेपाल बसेर इच्छुक नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण दिने केसीएका प्रमुख मदन कार्कीले जानकारी दिए।

एकेडेमीले यस अगाडि पनि उनलाई नेपाल बोलाएर एकेडेमीका खेलाडीसँगै इच्छुक अन्य क्रिकेटरहरूलाई प्रशिक्षण दिएको र नेपाली खेलाडीहरूको स्तर बढाउन १५ दिनका लागि उनलाई पुन नेपाल बोलाएको जानकारी दिए।

'विद्यालयको अन्तिम परीक्षा पनि सकिँदै छ। यो बेलामा प्रशिक्षणमा रहेका क्रिकेटरहरूलाई विश्वस्तरीय प्रशिक्षण दिन हामीले नरेन्द्र कुमारलाई नेपाल ल्याउन लागेका हौं,' उनले भने।

१५ दिनको नेपाल बसाइमा उनले बलिङ, ब्याटिङलगायतका क्षेत्रमा विशेष प्रशिक्षण दिने कार्कीले जानकारी दिए ।

प्रशिक्षण केसीएको बालुवाखानीमा रहेको प्रशिक्षण केन्द्रमा अप्रिल ९ बाट शुरू हुने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्