३० जेठ २०८३, शनिबार

आईपीएलमा आज : सन्तुलित पिचमा गुजरात र पञ्जाबबीच उत्कृष्टताको लडाइँ

चैत १७, २०८२
काठमाडौं
आईपीएलमा आज : सन्तुलित पिचमा गुजरात र पञ्जाबबीच उत्कृष्टताको लडाइँ

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) पञ्जाब किङ्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ । खेल चन्डिगढस्थित महाराज यादवेन्द्र सिंह स्टेडियममा नेपाली समय अनुसार, साँझ १९:४५ बजे शुरू हुनेछ ।

आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो चौथो खेल हो । आईपीएलमा गुजरात टाइटन्सको यो पाँचौँ सहभागिता हो । गुजरातले सन् २०२२ मा पहिलो पटक आईपीएल खेलेको थियो । गुजरातले पहिलो सहभागितामै उपाधि पनि जितेको थियो ।

अघिल्लो सिजन भने गुजरात तालिकाको चौथो स्थानमा रहेको थियो । अर्कोतिर, पञ्जाब किङ्सले भने हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । अघिल्लो सिजन पञ्जाब किङ्स फाइनलमा पराजित भएको थियो ।

आईपीएलमा पञ्जाब किङ्स र गुजरात टाइटन्सबीच हालसम्म ६ खेल खेलिएको छ । विगतको भिडन्तलाई हेर्दा दुवै टोलीको स्तर समान देखिन्छ । पछिल्ला ६ भिडन्तमध्ये तीन खेलमा गुजरात र तीन खेलमा पञ्जाब विजयी भएका छन् ।

अघिल्लो सिजनमा यी दुई टोलीबीच एक खेलमात्र भएको थियो । उक्त खेलमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको थियो । चन्डिगढस्थित स्टेडियममा भने हालसम्म यी दुई टोलीबीच एकपटकमात्र भिडन्त भएको छ । उक्त खेलमा गुजरातले पञ्जाबलाई तीन विकेटले हराएको थियो ।

पञ्जाब किङ्सका तीव्रगतिका बलर लोकी फर्गुसनले व्यक्तिगत कारणले मंगलबारको खेल गुमाउने सम्भावना बढी छ । क्लबका अनुसार, त्यसपछिका केही खेलमा पनि उनी अनुपस्थित रहने सम्भावना देखिन्छ । न्युजिल्यान्डका तीव्र्रगतिका बलर फर्गुसनको स्थानमा जेभियर बार्टलेट वा बेन ड्वारशसले टोलीमा स्थान पाउन सक्छन् ।

पञ्जाबको टोली भने यसपटक पनि निकै बलियो देखिन्छ । टोलीले प्रियांश आर्या र प्रभसिमरन सिंहबाट उत्कृष्ट शुरूआतको आश गरेको छ । तेस्रो नम्बरमा कप्तान श्रेयस ऐयर ब्याटिङमा आउने छन् ।

मध्यक्रममा नेहल बढेरा र शशांक सिंहजस्ता क्षमतावान खेलाडी छन् । मार्कस स्टोइनिस, मार्को यानसन र अजमतुल्लाह ओमरजाईले बलिङमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान छ ।

बटलरको लय गुजरातको चिन्ता

गुजरात टाइटन्सले यसपटक पनि ब्याटिङमा साई सुदर्शन र कप्तान शुभमन गिलबाट गतिलो प्रदर्शनको आश गरेको छ । तर, जोस बटलरले भने पछिल्लो समय लय गुमाएका छन् ।

ग्लेन फिलिप्स भने लयमा देखिन्छन् । वासिङ्टन सुन्दर, जेसन होल्डर, राहुल तेवातियाजस्ता अलराउन्डरबाट पनि गुजरातले अब्बल प्रदर्शनको आश गरेको छ ।

टोलीमा कागिसो राबडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, इशान्त शर्मा, ल्यूक उडजस्ता क्षमतावान तीव्रगतिका बलर पनि छन् । स्पिनर राशिद खान पनि लयमा छन् । उनलाई साई किशोर र सुन्दरले पनि गतिलो साथ दिन सक्छन् ।

सन्तुलित चरित्रको पिच

महाराजा यादवेन्द्र सिंह स्टेडियमको पिच सन्तुलित चरित्रको मानिन्छ । यो पिचले ब्याट्सम्यान र बलर दुवैलाई उत्तिकै सहयोग पुर्‍याउने गरेको छ । खेलको प्रारम्भमा नयाँ बलले तीव्र्रगतिका बलरलाई साथ दिने गरेको छ । तर, खेलअघि बढ्दै जाँदा पिच ब्याट्सम्यानका लागि अनुकुल बन्दै जान्छ ।

यो स्टेडियममा आईपीएलको १२औँ खेल खेल्न लागिएको हो । यसअघि खेलिएको ११ मध्ये ६ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । पाँच खेल भने जवाफी ब्याटिङ गर्ने टोलीले जितेको तथ्याङ्कले देखाउँछ ।

यो स्टेडियममा खेलिएको आईपीएल खेलमा बनेको सबैभन्दा ठूलो स्कोर पाँच विकेट गुमाएर दुई सय २८ रन हो । यो स्कोर सन् २०२५ को आईपीएलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सविरुद्ध बनाएको थियो ।

चन्डिगढस्थित महाराज यादवेन्द्र सिंह स्टेडियम क्षेत्रमा मंगलबार वर्षाको सम्भावना रहेको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना २५ प्रतिशत रहेको छ । मंगलबारको न्युनतम तापक्रम १८ र अधिकतम तापक्रम ३४ डिग्री सेल्सियसको बीचमा रहने बताइएको छ ।

सम्भावित टोली

पञ्जाब किङ्स :प्रभसिमरन सिंह (विकेटकिपर), प्रियांश आर्या, श्रेयस ऐयर (कप्तान), मिचेल ओवेन, शशांक सिंह, नेहल बाधेरा, मार्कस स्टोइनिस, मार्को यानसन, हरप्रित बरार, अर्शदीप सिंह, युजवेन्द्र चहल र बेन ड्वारशस ।

गुजरात टाइटन्स :शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वाशिङ्टन सुन्दर, ग्लेन फिलिप्स, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, साई किशोर, कागिसो राबडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा ।

salt training

कमेन्ट गर्नुहोस्