
नेपाली कांग्रेस, सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले गगन थापा पक्षभन्दा आफूहरू बलियो भएको दाबी गरेका छन् ।
देउवा-शेखर पक्षले मंगलबार काठमाडौंको धुम्बाराहीमा आयोजना गरेको भेलामा उनले विशेष महाधिवेशनबाट बनेको भन्दा आफूहरू बलियो भएको बताए । कांग्रेस भित्रका दुवै पक्षले चिन्तन गर्ने बेला आएको उनले बताए ।
'हामी बलियो छौं, आधिकारिकता पुष्टि गरेर मात्र पुग्दैन । यो समय दुवै पक्षले चिन्तन गर्ने बेला हो,' उनले भने ।
वास्तविकतालाई स्वीकार गरेर एकतामा जानुपर्ने उनले बताए । 'सहनशिलताका साथ एकताको बाटोमा जानुपर्छ,' उनले भने, 'यसलाई समानान्तर गतिविधि भनिँदैन । यो अधिकारको कुरा हो । अर्को पार्टी गठन गर्न जम्मा भएको हैन । कसैलाई खुइल्याएर कोही बलियो हुने अवस्था छैन ।'