२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री कप क्रिकेट : कप्तान आरिफ र रासिदको उत्कृष्ट साझेदारीसँगै कोशीलाई हराउँदै पहिलो स्थानमा उक्लियो पुलिस

चैत १७, २०८२
काठमाडौं
प्रधानमन्त्री कप क्रिकेट : कप्तान आरिफ र रासिदको उत्कृष्ट साझेदारीसँगै कोशीलाई हराउँदै पहिलो स्थानमा उक्लियो पुलिस

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो जित हासिल गरेको छ । पुलिस क्लबले मंगलबार वीरगञ्जमा खेलिएको खेलमा कोशी प्रदेशलाई ६ विकेटले हरायो ।

जारी प्रतियोगितामा आफ्नो पाँचौं खेल खेलेको पुलिस क्लबको यो तेस्रो जित हो । पुलिस क्लब एक खेलमा पराजित भएको छ भने एक खेल प्रतिकूल मौसमका कारण अनिर्णित रूपमा सकिएको छ । तेस्रो जितसँगै पुलिस क्लब सात अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

आफ्नो पाँचौं खेल खेलेको कोशी प्रदेशको भने यो चौथो हार हो । कोशी प्रदेशको एक खेल भने प्रतिकूल मौसमका कारण अनिर्णित रूपमा सकिएको थियो । हालसम्म केवल एक अंक जोडन सकेको कोशी प्रदेश तालिकामा सबैभन्दा तल १०औं स्थानमा छ ।

नारायणी क्रिकेट रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ४२.५ ओभरमा अलआउट हुनुअघि एक सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने ३३.५ ओभरमै केवल चार विकेट गुमाएर एक सय ६५ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

सामान्य विजलक्ष्य पछ्याएको पुलिस क्लबका माथिल्ला चार ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर दिनेश खरेल दुई रनमा आउट भए भने शंकर राना, अमित श्रेष्ठ र दिलसाद अलीले त खातासम्म खोल्न सकेनन् ।

केवल ११ रनको कुल स्कोरमा चौथो विकेट गुमाएको पुलिस क्लबलाई त्यसपछि रासिद खान र कप्तान आरिफ शेखले जितसम्म पुर्‍याएका थिए । रासिद खानले अविजित ७३ रन बनाए । उनले ९० बलमा एक छक्का र आठ चौका प्रहार गरे ।

कप्तान आरिफ शेखले पनि अविजित ८१ रन बनाए । उनले ७९ बलको सामना गरी एक छक्का र ११ चौका हिर्काए । रासिद खान र आरिफ शेखले एक सय ५४ रनको महत्त्वपूर्ण साझेदारी गरे । कोशी प्रदेशका बलर विपिन महतोले दुई र दीपेश कँडेलले एक विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको कोशी प्रदेशका लागि कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका सुजनले ४२ बलको सामना गरी दुई छक्का र ६ वटा चौका पनि हिर्काए ।

ओपनर ब्याट्सम्यान सुमन श्रेष्ठले पनि टोलीको खातामा ४३ रन थपे । उनले ९४ बलमा चार चौका प्रहार गरे । अर्का ओपनर अंकित सुवेदीले २६ र शिवाश बजगाईंले १५ रन जोडे । कोशी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोशी प्रदेशले अतिरिक्त रूपमा पनि १८ रन पायो । पुलिस क्लबका बलर दिनेश खरेल एक्लैले पाँच विकेट लिए । उनले ७.५ ओभरमा दुई मेडन राख्दै केवल २१ रन खर्चिए । ललित राजवंशी र सागर ढकालले पनि दुई/दुई विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्