
चारपटकको विश्व च्याम्पियन इटाली आगामी फिफा विश्वकपमा पनि नदेखिने भएको छ । इटाली विश्वकपको छनोट चरणबाटै बाहिरिएको हो ।
विश्वकप छनोटको प्ले–अफ चरणमा इटालीको टोली बोस्निया–हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित भयो । इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।
पुरुष विश्वकप फुटबलको इतिहासमा कुनै पनि पूर्वविजेताले लगातार तीनपटक छनोट चरण पार गर्न नसकेको यो पहिलो पटक हो ।
इटाली यसअघि, सन् २०१८ को रुस र सन् २०२२ को कतार विश्वकपमा पनि अनुपस्थित थियो । बुधबार बिहान सम्पन्न प्ले–अफ चरणको खेलमा इटालीले निराशाजनक प्रदर्शन गर्यो ।
यद्यपि, खेलको १५ औं मिनेटमै इटालीले अग्रता लिएको थियो । इटालीका लागि मोइसे किनले प्रारम्भिक गोल गरेका थिए । खेलको पहिलो हाफमै इटाली १० खेलाडीमा समेटिएको थियो ।
निर्धारित समयको ४१ औं मिनेटमा इटालीका अलेसान्ड्रो बास्टोनी सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसैको फाइदा उठाउँदै बोस्निया–हर्जगोभिनाले दोस्रो हाफमा गोल फर्कायो ।
बोस्निया–हर्जगोभिनाका लागि निर्धारित समयको ७९ औं मिनेटमा हारिस तबाकोभिचले जवाफी गोल गरेका थिए । उनी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउटमा भने बोस्निया–हर्जगोभिनाले ४–१ गोलले बाजी मार्यो ।
बोस्निया–हर्जगोभिना सन् २०१४ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो । त्यसयता बोस्निया–हर्जगोभिना विश्वकपमा छनोट हुन सकेको थिएन ।