२२ असार २०८३, सोमबार

क्रिमियामा रूसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

चैत १८, २०८२
काठमाडौं
क्रिमियामा रूसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
विमानको फाइल तस्वीर ।

क्रिमियामा रूसी सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार २९ जनाको मृत्यु भएको छ । रूसी रक्षा मन्त्रालयले राज्य सञ्चारमाध्यममार्फत् उक्त जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नियमित उडानका क्रममा सम्पर्क विच्छेद भएपछि एन–२६ विमानको भग्नावशेष फेला पारिएको हो । विमानमा ६ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा कोही पनि जीवित नरहेको प्रारम्भिक अनुमान गरिएको बीबीसी लेखेको छ । 

प्राविधिक समस्याका कारण विमान चट्टानमा ठोक्किएर दुर्घटनाग्रस्त भएको बताइएको छ । मन्त्रालयले विमानमा बाह्य आक्रमण वा क्षति नभएको उल्लेख गर्दै मिसाइल, ड्रोन वा चराका कारण दुर्घटना भएको सम्भावना नरहेको जनाएको छ ।

रूसी समाचार संस्था टासका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझ करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको थियो । त्यसपछि खोज तथा उद्धार अभियानमार्फत् विमानको भग्नावशेष फेला पारिएको हो ।

एन–२६ सोभियतकालीन विमान हो, जसलाई मुख्य रूपमा सैन्य प्रयोजनका लागि भारी सामग्री तथा सीमित संख्यामा यात्रु ओसारपसार गर्न प्रयोग गरिन्छ । उक्त विमान युक्रेनी एयरोस्पेस कम्पनी एन्टोनोभले निर्माण गरेको हो ।

सन् १९६० दशकको अन्त्यदेखि प्रयोगमा रहेको यस प्रकारका विमान विगतमा पनि पटक–पटक दुर्घटनामा परेका छन् । सन् २०२० मा युक्रेनको खार्किभमा यस्तै विमान दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने २०२१ मा रूसको पूर्वी क्षेत्रमा भएको दुर्घटनामा २८ जनाको ज्यान गएको थियो । सन् २०२२ मा युक्रेनको जापोरिझ्झिया क्षेत्रमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।

क्रिमिया सन् २०१४ मा रूसले युक्रेनबाट कब्जा गरेको क्षेत्र हो । पछिल्ला वर्षहरूमा युक्रेन र रूसबीच त्यहाँ सैन्य द्वन्द्व जारी छ । युक्रेनले प्रायः क्रिमियास्थित रूसी सैन्य आधारहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामको सर्तका रूपमा रूसले क्रिमियाबाट फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्