
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ह्वाइट हाउसबाट सम्बोधन गर्दै उनले इरानविरुद्ध जारी सैन्य कारबाही अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।
सम्बोधनमा ट्रम्पले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य संरचना गम्भीर रूपमा कमजोर बनाएको दाबी गरे। उनका अनुसार इरानी नौसेना लगभग समाप्त भइसकेको, वायुसेना क्षतिग्रस्त अवस्थामा पुगेको र शीर्ष तहका धेरै कमाण्डरहरू मारिएका छन्। इरानको मिसाइल तथा ड्रोन क्षमतामा समेत उल्लेख्य गिरावट आएको उनको भनाइ थियो। “अमेरिका स्पष्ट रूपमा जिततर्फ अघि बढिरहेको छ,” उनले भने।
ट्रम्पले सन् २०२५ जुनमा सञ्चालन गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’ उल्लेख गर्दै इरानका आणविक केन्द्रहरू ध्वस्त पारिएको दाबी गरे। इरान आणविक हतियार निर्माणको नजिक पुगेको भन्दै उनले बराक ओबामा नेतृत्वमा भएको आणविक सम्झौतालाई “ठूलो गल्ती” को संज्ञा दिए र त्यसलाई अन्त्य गर्नु आफ्नो महत्वपूर्ण निर्णय भएको बताए।
क्षेत्रीय सुरक्षाबारे उनले इजरायल र खाडी राष्ट्रहरूलाई अमेरिकाको निरन्तर समर्थन रहने बताए। हर्मुज जलसन्धिको सुरक्षामा सहयोगी देशहरू आफैं अग्रसर हुनुपर्ने उनले उल्लेख गरे। साथै, अमेरिका अब उक्त क्षेत्रको तेल र सुरक्षामा पहिलेझैं निर्भर नरहेको भन्दै भविष्यमा अमेरिकी सेना फिर्ता हुन सक्ने संकेत पनि गरे।
आर्थिक प्रसङ्गमा ट्रम्पले बढ्दो इन्धन मूल्यका लागि इरानलाई जिम्मेवार ठहर्याए। उनले निकोलस मदुरो सत्ताच्युत भएपछि भेनेजुएलासँग अमेरिकाको सम्बन्ध सुधारिएको दाबी गर्दै त्यसलाई सफल उदाहरणका रूपमा प्रस्तुत गरे।
सम्बोधनको सुरुवातमा उनले नासाको ‘आर्टेमिस–२’ मिसनको सफलताप्रति खुशी व्यक्त गर्दै अन्तरिक्ष यात्रीहरूको प्रशंसा गरेका थिए। साथै, सन् २०२० मा इरानी कमाण्डर कासिम सुलेमानीको हत्या सम्झँदै इरानमाथि आतंकवाद प्रवर्द्धन र आफ्नै नागरिकमाथि दमन गरेको आरोप दोहोर्याए।
तर ट्रम्पका यी दाबीप्रति विभिन्न तहबाट प्रश्न उठ्न थालेका छन्। केही विश्लेषकहरूले युद्धको आवश्यकता र प्रभावकारितामाथि प्रश्न गर्दै अमेरिकी कारबाहीकै कारण क्षेत्रमा थप अस्थिरता र आर्थिक दबाब सिर्जना भएको बताएका छन्। इरानले युद्धविराम वा वार्तामा सहमति नजनाइसकेको अवस्थामा ट्रम्पले भनेजस्तो अन्तिम चरण कति यथार्थपरक हो भन्नेमा अझै अन्योल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।