११ साउन २०८३, सोमबार
पार्टीलाई पुनर्जीवन दिन १० बुँदे कार्ययोजना प्रस्ताव

नेकपाको चुनावी समीक्षा : नयाँको लहर चिर्न नसक्दा असामान्य परिणाम आयो, 'डिजिटल सुनामी' प्रमुख कारण

चैत २०, २०८२
काठमाडौं
नेकपाको चुनावी समीक्षा : नयाँको लहर चिर्न नसक्दा असामान्य परिणाम आयो, 'डिजिटल सुनामी' प्रमुख कारण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको १० पेजमा समीक्षा गर्दै आगामी यात्राका लागि १० बुँदे ठोस कार्ययोजना पनि अघि सारेको छ ।

 बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा संयोजक प्रचण्डले निर्वाचनको सामान्य समीक्षासहितको प्रतिवेदन र आगामी कार्यदिशा पेस गरेका हुन् ।

प्रतिवेदनमा निर्वाचनको परिणाम पार्टीले अनुमान गरेभन्दा फरक र 'असामान्य' आएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा हारका आन्तरिक र बाह्य कारणहरूको विश्लेषण गर्दै पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

पार्टीले निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा 'डिजिटल सुनामी' लाई एक प्रमुख बाह्य कारण मानेको छ । 

सामाजिक सञ्जालको प्रयोगमार्फत परम्परागत शक्तिहरू विरुद्ध फैलाइएको 'प्रोपागान्डा' र नयाँ शक्तिहरूको 'लोकप्रियतावादी' लहरलाई चिर्न नसक्नु पार्टीको कमजोरी रहेको समीक्षामा उल्लेख छ । यस्तै, पार्टी एकता पछिको साङ्गठनिक समायोजन तल्लो तहसम्म हुन नसक्नु, वैचारिक कामको अभाव, र युवा पुस्तालाई आकर्षण गर्न नसक्नुलाई आन्तरिक कमजोरीका रूपमा लिइएको छ ।

यस्तो छ नेकपाको १० बुँदे कार्ययोजना
 प्रतिवेदनमा पार्टीलाई पुनर्जीवन दिन १० बुँदे कार्ययोजना प्रस्ताव गरिएको छ-
१. सङ्गठन समायोजन र निर्माण: एक महिनाभित्र पालिका तहसम्म र तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण र समायोजन सम्पन्न गर्ने ।
२. सदस्यता नवीकरण र अधिवेशन: तीन महिनाभित्र सदस्यता नवीकरण सक्ने र पाँच महिनाभित्र वडादेखि प्रदेशसम्मका अधिवेशनहरू सम्पन्न गर्ने ।
३. एकता महाधिवेशन: आगामी छ महिनाभित्र पार्टीको राष्ट्रिय एकता महाधिवेशन आयोजना गर्ने ।
४. नेतृत्वको पुनर्गठन र रूपान्तरण: सङ्गठनको मात्र नभई नेतृत्वको समेत पुनर्गठन गरी नयाँ र ऊर्जावान् बनाउने ।
५. प्रशिक्षण अभियान: व्यवस्थित पाठ्यक्रम निर्माण गरी देशव्यापी रूपमा सघन सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण चलाउने ।
६. आर्थिक कोष निर्माण: पार्टीलाई आत्मनिर्भर बनाउन व्यवस्थित आर्थिक कोष निर्माण अभियान सञ्चालन गर्ने ।
७. प्रभावकारी प्रतिपक्षको भूमिका: संसद्मा राष्ट्र र जनसरोकारका विषयमा रचनात्मक र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने ।
८. स्थानीय तह परिचालन: पार्टीका निर्वाचित प्रतिनिधिहरूलाई जनपक्षीय काममा थप सक्रिय बनाउने ।
९. प्राविधिक क्षमता विकास: सूचना प्रविधिको युगसँग जुध्न नेता तथा कार्यकर्ताको प्राविधिक ज्ञान र क्षमता अभिवृद्धि गर्ने ।
१०. कार्यशैली र आचरण सुधार: नेता-कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरणमा आमूल सुधार ल्याउने ।

बैठकमा पेस गरिएको उक्त प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको छ । पार्टी स्रोतका अनुसार यस प्रतिवेदनमाथि आगामी चैत २३ गतेदेखि निरन्तर छलफल हुनेछ ।

 छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिई निर्णय गरी कार्यान्वयनको प्रक्रियामा लगिने नेता अग्नि सापकोटाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्