२३ जेठ २०८३, शनिबार
उद्योग वाणिज्य महासंघको साधारणसभा

उद्योगी/व्यवसायीलाई चुनावको चटारो, ढकाल र श्रेष्ठको प्यानलबीच रोचक प्रतिस्पर्धा

चैत २०, २०८२
काठमाडौं

प्रतिनिधिसभा निर्वाचनको एक महिनापछि उद्योगी व्यवसायीलाई चुनावको चटारोले छपक्कै छोपेको छ । यही चैत २९ र ३० गते उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुन लागेको छ ।

यसपटकको चुनावमा दुई प्यानल मुख्य प्रतिस्पर्धामा छन् । हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल समर्थित एउटा र हुँदै गरेका अध्यक्ष अञ्जन श्रेष्ठको अर्को प्यानल प्रतिस्पर्धामा उत्रिँदैछन् ।

चैतको अन्तिम साता महासंघ अध्यक्ष चन्द्र ढकाल बिदा हुँदैछन् । र, अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्दैछन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था विधानले गरेको छ ।

तर, श्रेष्ठपछि बन्ने अध्यक्ष भने स्वत: नभएर सिधै निर्वाचित हुने व्यवस्था संशोधित विधानमा गरिएको छ । यस्तो व्यवस्था गर्न लागिएको पहिलोपटक भने होइन, २०७३ सालअघि प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षको व्यवस्था थियो । २०७३ पछि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । 

कुन पदका लागि को–को छन् उम्मेदवार

हालका अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन पाएका हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ गरी दुई प्यानल चुनावमा होमिएका छन् । निर्वाचनका लागि दुई समूह प्यानलै बनाएर मैदानमा उत्रिएका हुन् ।

अध्यक्ष स्वत: हुने भइसकेपछि त्यसपछिको पद वरिष्ठ उपाध्यक्ष हो । हालका उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ । यता अञ्जन श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरिएको छैन ।

महासंघको पदाधिकारीमा कुल ९ जना हुन्छन् । जसमा अध्यक्ष एकजना, निवर्तमान अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला/नगर उपाध्यक्ष २ जना, वस्तुगत तर्फका उपाध्यक्ष एक जना, एसोसिएट तर्फका उपाध्यक्ष एक जना र कोषाध्यक्ष एक जना रहन्छन् । महासंघको महानिर्देशक पनि पदाधिकारीसरह रहने प्रावधान छ । यीमध्ये वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भने कार्यसमितिले चयन गर्छ । 

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष केन्द्रीय सदस्यहरूले चुन्ने व्यवस्था छ । र, महानिर्देशक नियुक्त गरिन्छ । यसका साथै महिला उपाध्यक्ष पनि चुनावपछि नियुक्त गरिन्छ । तर, त्यसका लागि १२ जना महिला केन्द्रीय सदस्यले निर्वाचन जितेर आएको हुनुपर्छ । 

वरिष्ठ उपाध्यक्षपछिको पद हो, उपाध्यक्ष ।

हालका अध्यक्ष चन्द्रप्रसाद ढकालको समूहबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले पुन: उम्मेदवारी दिएकी छिन् । त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र प्रस्तावित महिला उपाध्यक्षका लागि कमला श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

यता अञ्जन श्रेष्ठ प्यानलबाट शिवप्रसाद घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसका साथै श्रेष्ठको प्यानलबाट एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् । घिमिरेले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरिसकेका छन् । 

अब यही चैत २९ गते ललितपुरको होटल रोयल ट्युलिपमा ६० औं वार्षिक साधारण सभा उद्घाटन हुनेछ । भोलिपल्ट चैत ३० गते काठमाडौंको प्रज्ञा भवनमा निर्वाचन हुनेछ । एकातिर अटोमोबाइल्स, फुड एन्ड बेभरेज, निर्माण लगायत दजनौं क्षेत्रमा लगानी विस्तार गरेका अञ्जन श्रेष्ठ छन् भने अर्कोतर्फ प्रतिष्ठित व्यावसायिक घराना आईएमई ग्रुप वर्तमान अध्यक्षको साथ पाएका हेमराज ढकाल, प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्