
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज आइतबार सुनुवाइ हुने भएको छ ।
अब मुद्दाका सबै पक्ष मिलिसकेकाले आइतबार दुवै जनाका रिट पेसीमा चढ्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको बताइएको छ ।
जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो ।
ओली अस्पतालमै प्रहरीको निगरानीमा उपचाररत छन् भने लेखक प्रहरी हिरासतमै छन् ।
आफूहरूको पक्राउ गैरकानूनी भन्दै उनीहरूले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।
चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।