०७ साउन २०८३, बिहीबार
युद्ध अझै चर्किने संकेत

इरान-अमेरिका आमनेसामने, विनाशकारी परिणामको चेतावनी

चैत २२, २०८२
काठमाडौं
इरान-अमेरिका आमनेसामने, विनाशकारी परिणामको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे विनाशकारी परिणाम निम्तिने चेतावनी दिएपछि तेहरानले पनि उस्तै कडा प्रतिक्रिया जनाएको छ ।

इरानी सेनाका एक प्रवक्ताले अमेरिका र इजरायलले द्वन्द्व थप तीव्र बनाए सम्पूर्ण क्षेत्रमा भयानक परिणाम आउने चेतावनी दिएका छन् ।

शनिबार इरानले खाडी देशहरू, इराक र इजरायलतर्फ थप मिसाइल प्रहार गरेको छ । प्रतिरक्षा प्रणालीले अवरोध गरेका मिसाइलका अवशेष खस्दा विभिन्न स्थानमा क्षति पुगेको बताइएको छ ।

यसबीच, शुक्रबार दक्षिणी इरानमाथि खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानका एक बेपत्ता चालकदल सदस्यको खोजी अमेरिकी र इरानी दुवै पक्षले गरिरहेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पाइलट भने उद्धार भइसकेका छन् ।

इरानी अधिकारीहरूले नागरिकहरूलाई बेपत्ता चालकदल सदस्यलाई जिउँदै फेला पार्न आग्रह गरेका छन् भने उनलाई पक्राउ गराउनेलाई पुरस्कार दिने घोषणा पनि गरेका छन् ।

खोज तथा उद्धार अभियानमा संलग्न अमेरिकी ए–१० वार्थोग विमानसमेत आक्रमणमा परी क्षतिग्रस्त भएको थियो, तर त्यसका पाइलटलाई उद्धार गरिएको जनाइएको छ ।

मार्च २७ मा राष्ट्रपति ट्रम्पले इरानलाई सम्झौता गर्न समय दिन ऊर्जा पूर्वाधारमाथि आक्रमण १० दिनका लागि स्थगित गरिएको घोषणा गरेका थिए ।

शनिबार उनले पुनः सामाजिक सञ्जालमार्फत ४८ घण्टाभित्र इरानले होर्मुज जलडमरु मार्ग नखोले वा सम्झौता नगरे विनाशकारी परिणाम आउने चेतावनी दोहोर्‍याएका छन् । 

इरानतर्फबाट खतम अल-अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले भने, ‘यदि द्वन्द्व अझ बढ्यो भने सम्पूर्ण क्षेत्र तिमीहरूका लागि नरक बन्नेछ, र इरानलाई हराउने भ्रम दलदलमा परिणत हुनेछ ।’

शनिबार पनि अमेरिका र इजरायलले इरानका सैन्य, ऊर्जा तथा औद्योगिक संरचनामाथि आक्रमण जारी राखेका छन् । जवाफमा इरानले खाडी देशहरू, इराक र इजरायलतर्फ मिसाइल प्रहार गरेको छ ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा तेहरानमा ठूलो आक्रमण भएको भिडियो सार्वजनिक गरेका छन्, तर उक्त भिडियो २४ घण्टा पुरानो भएको देखिएको छ ।

उनले आक्रमणपछि इरानका धेरै सैन्य नेताहरू मारिएका दाबी गरेका छन्, तर यसबारे तेहरानले कुनै प्रतिक्रिया दिएको छैन र अमेरिकाले पनि थप विवरण सार्वजनिक गरेको छैन ।

इजरायलले जेरुशलेम क्षेत्रमा विस्फोटको आवाज सुनिएको जनाएको छ । उता, इरानले खाडी देशहरू र इराकतर्फ मिसाइल प्रहार जारी राखेको छ ।

इरानले युद्धका क्रममा चौथोपटक आफ्नो बुशेहर परमाणु ऊर्जा केन्द्र आसपास आक्रमण भएको जनाएको छ । यस आक्रमणमा केन्द्रका एक कर्मचारीको मृत्यु भएको इरानको परमाणु ऊर्जा संस्थाले जनाएको छ ।

इरानले उक्त आक्रमणका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेको भए पनि दुवै देशले यसबारे पुष्टि नगरेका बीबीसीले जनाएको छ । 

बुशेहर इरानको एकमात्र सञ्चालनमा रहेको परमाणु ऊर्जा केन्द्र हो, जुन रुसको सहयोगमा निर्माण गरिएको हो ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको परमाणु निगरानी निकाय इन्टरनेश्नल एटोमिक इनर्जी एजेन्सीले घटनाबारे जानकारी पाएको र गम्भीर चिन्ता व्यक्त गरेको जनाएको छ ।

एजेन्सीका अनुसार विकिरण स्तरमा कुनै वृद्धि भएको छैन । साथै, परमाणु केन्द्र र आसपासका क्षेत्रमाथि आक्रमण नगर्न र अधिकतम सैन्य संयमता अपनाउन आग्रह गरिएको छ ।

इरानले भने बुशेहर केन्द्रका मुख्य संरचनामा ठूलो क्षति नभएको र सञ्चालन प्रभावित नभएको जनाएको छ ।

रुसले केन्द्रबाट आफ्ना धेरै कर्मचारीलाई हटाइसकेको छ । रुसको सरकारी परमाणु संस्था रोसाटोमका प्रमुख अलेक्सेई लिखाचेभका अनुसार शनिबार बिहान बाँकी १९८ कर्मचारीको पनि उद्धार प्रक्रिया सुरु गरिएको छ ।

इरानको परमाणु कार्यक्रम लामो समयदेखि अन्तर्राष्ट्रिय विवादको विषय रहँदै आएको छ, जसका कारण विभिन्न प्रतिबन्धहरू लाग्दै आएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्ध फेब्रुअरी २८ देखि शुरू भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्